अरब लिगले सदस्य राष्ट्रहरूमा इरानले गरेको आक्रमण गलत रहेको बताएको छ । अरब लिगका महासचिव अहमद अबुल घेइतले इरानले धेरै सदस्य राष्ट्रहरूमाथि गरेको आक्रमण अविवेकी र ‘लापरबाहीपूर्ण’ भएको बताएका हुन् ।
उनले तेहरानलाई ‘ठूलो रणनीतिक गल्ती’ रोक्न आग्रह गरेका छन् । कायरोमा अरब विदेश मन्त्रीहरूको आपतकालीन भिडियो कन्फरेन्सलाई सम्बोधन गर्दै अहमद अबुल घेइतले भने, “आक्रमणलाई कुनै पनि बहाना वा सन्दर्भमा न्यायोचित ठहराउन सकिदैन र खाडी देशहरूको शान्ति प्रयासको बदलामा इरानले अरब लिगका सदस्य राष्ट्रमाथि ‘विश्वासघाती रकेट र ड्रोन आक्रमण’ गरेको छ।”
इरानले आइतबार पनि खाडी क्षेत्रका विभिन्न मुलुकका भौतिक संरचनामा आक्रमण गरेको थियो । आइतबार कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन ट्याङ्कमा आक्रमण गरिएको छ भने बहराइनमा एक ‘डिसेलिनेसन प्लान्ट’मा क्षति पुर्याइएको छ
तेहरानले आफ्नो छिमेकीहरूविरुद्ध आफ्नो मिसाइल र ड्रोन अभियानलाई दोस्रो हप्तामा पनि उस्तै ‘लापरबाहीपूर्ण’ तरिकाले प्रयोग गर्दै आएको उनीहरूले बताएका छन् ।
कुवेतको गृह मन्त्रालयले आफ्नो राष्ट्रिय कर्तव्य निर्वाह गर्ने क्रममा दुई जना सीमा सुरक्षाकर्मीको पनि मृत्यु भएको जनाएको छ ।
अमेरिका र इजरायलले इरानविरुद्ध ठूलो हवाई अभियान चलाएपछि तेहरानको प्रतिक्रियाको छिमेकी देशहरूले विरोध गरिरहेका छन् । युद्ध सुरु भएदेखि खाडी राष्ट्रहरूमा १६ जना मारिएका छन्, जसमा आठ जना सर्वसाधारण रहेका छन् ।
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इस्लामिक गणतन्त्रले आफ्नो भूमि प्रयोग गरी आक्रमण गरेमा इरानले ‘आफ्ना छिमेकीहरुविरुद्ध जवाफ दिन बाध्य हुने’ चेतावनी दिएका छन् ।
शनिबार राष्ट्रपति पेजेस्कियानले छिमेकी मुलुकहरूका अमेरिकी सैन्य अखडाबाट आक्रमण भएपछि त्यहाँ आक्रमण गर्नुपरेको भन्दै छिमेकी देशसँग माफी मागेका छन् ।
खाडी देशहरूले इरानविरुद्धको आक्रमणमा आफ्नो भूमि प्रयोग नभएको बताउँदै आएका छन् । उनीहरूले युद्ध सुरु हुनुअघि उनीहरूले बारम्बार त्यस्तो कदम चाल्न नदिने बताएका थिए।
साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार र कुवेतले दुबई र बहराइनको मनामामा एक दिनअघि ठूलो विस्फोटको आवाज सुनिएको थियो भने त्यहाँ नयाँ आक्रमणको चेतावनी जारी गरिएको छ।
कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन ट्याङ्कलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको सेनाले जनाएको छ ।
कुवेतको सरकारी समाचार एजेन्सीले विमानस्थलमा लागेको आगलागी नियन्त्रणमा आएको र कुनै खास मानवीय क्षति नभएको जनाएको छ ।
इरानी सेनाले ड्रोन आक्रमणलाई ‘महत्वपूर्ण पूर्वाधारको प्रत्यक्ष निसाना’ भनेको छ। इरानको एक छुट्टै बयानमा भनिएको छ, “केही नागरिक सुविधाहरू अवरोध गर्नेगरी भएका हवाई आक्रमणपछि भएका प्रतिरोधका क्रममा आकाशमा विस्फोट भएका टुक्रा र भग्नावशेषहरू खस्दा भौतिक क्षति भएको छ।”

प्रतिक्रिया