नारीदिवस विशेष : सावित्री-सत्यवानको दाम्पत्य र त्यसको मनोवैज्ञानिक पक्ष


डा. गोविन्दशरण उपाध्याय ।

वैदिक परम्परामा दाम्पत्य प्रेमका अनेक आदर्श कथाहरू पाइन्छन्, तर सत्यवान् र सावित्रीको कथा विशेष रूपमा मनोवैज्ञानिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ | यो कथा केवल धार्मिक कथा मात्र होइन, मानव मन, प्रेम, निष्ठा, निर्णय क्षमता, धैर्य र मानसिक शक्ति सम्बन्धी गहिरो सन्देश बोकेको कथा हो | आधुनिक मनोविज्ञानको आँखाले हेर्दा यस कथामा व्यक्तित्व विकास, भावनात्मक नियन्त्रण, संकट व्यवस्थापन, दाम्पत्य प्रतिबद्धता तथा संवाद कौशल जस्ता अनेक मनोवैज्ञानिक पक्षहरू अत्यन्त स्पष्ट रूपमा देखिन्छन् | यही कारणले यो कथा आज पनि दाम्पत्य जीवन, मनोवैज्ञानिक परामर्श तथा मानव सम्बन्ध अध्ययनका लागि अत्यन्त प्रेरणादायी र महत्वपूर्ण मान्नुपर्छ |

सत्यवान्–सावित्रीको कथा मुख्यतः महाभारतको वनपर्वमा वर्णित छ । ऋषि मार्कण्डेयले वनवासमा रहेका युधिष्ठिरलाई यो कथा सुनाएका थिए । द्रौपदीले अनेक दुःख सहिरहेको देखेर युधिष्ठिरले प्रश्न गरेका थिए कि के कुनै स्त्री यति धैर्यशील र निष्ठावान् हुन सक्छिन् जसले आफ्ना पतिप्रति पूर्ण समर्पण राखेर कठिन परिस्थितिलाई जित्न सक्छिन् ? प्रश्नको उत्तरमा सावित्रीको कथा प्रस्तुत गरिएको हो । यस कथाको उद्देश्य केवल आदर्श पत्नीको चित्रण मात्र होइन, मानवीय मनोबल र भावनात्मक शक्ति कति प्रभावशाली हुन सक्छ भन्ने देखाउनु पनि हो |

कथामा मद्रदेशका राजा अश्वपति सन्तानविहीन थिए । उनले तपस्या गरेपछि सावित्री नामकी कन्या जन्मिइन् । सावित्री अत्यन्त सुन्दरी, बुद्धिमती तथा सद्गुणले सम्पन्न थिइन् । मनोवैज्ञानिक दृष्टिले हेर्दा सावित्रीको चरित्र सन्तुलित व्यक्तित्व (balanced personality) को उदाहरण हो । उनी केवल सौन्दर्यको प्रतीक होइनन्, बरु उच्चस्तरको आत्मविश्वास, विवेक र निर्णय क्षमता भएका व्यक्तित्व की प्रतिक हुन् भन्न मिल्छ |

जब सावित्री विवाह योग्य भइन्, उनले आफ्नो जीवनसाथी आफैँ चयन गर्ने निर्णय गरिन् । यहाँ स्वतन्त्र निर्णय क्षमता (autonomous decision making) को मनोवैज्ञानिक पक्ष देखिन्छ । उनले वनवासी सत्यवान् नामक युवकलाई आफ्नो पति चयन गरिन् । सत्यवान् अत्यन्त सद्गुणी र सत्यवादी थिए, तर उनको आयु केवल एक वर्ष मात्र बाँकी रहेको कुरा नारद ऋषिले बताए । यो सूचना सावित्रीका लागि अत्यन्त गम्भीर मनोवैज्ञानिक चुनौती थियो ।

सामान्य मानिस यस्तो अवस्थामा डर, अनिश्चितता र भविष्यको चिन्ताले आफ्नो निर्णय बदल्न सक्छ । तर सावित्रीले आफ्नो निर्णय परिवर्तन गरिनन् । उनले एकपटक मनले स्वीकार गरेको व्यक्तिलाई जीवनसाथी बनाउने अटल निर्णय गरिन् । यसलाई आधुनिक मनोविज्ञानमा उच्च स्तरको प्रतिबद्धता (commitment) र भावनात्मक स्थिरता (emotional stability) को उदाहरण मानिन्छ । देवी सावित्रीले डर र अनिश्चिततालाई आफ्नो निर्णयमा हस्तक्षेप गर्न दिइनन् ।

विवाहपछि सावित्री सत्यवान्सँग वनमा बस्न लागिन् । उनले आफ्ना सासू–ससुरा तथा पतिप्रति अत्यन्त समर्पित भएर सेवा गरिन् | यहाँ पारिवारिक सम्बन्धमा सहानुभूति (empathy) र सामाजिक उत्तरदायित्व (social responsibility) को मनोवैज्ञानिक पक्ष देखिन्छ । सावित्री केवल पत्नी मात्र होइनन्, परिवारको भावनात्मक केन्द्रका रूपमा पनि प्रस्तुत हुन्छिन् |

जब सत्यवान्को मृत्युको समय नजिक आयो, सावित्रीले कठोर व्रत र उपवास गरिन् | मनोवैज्ञानिक दृष्टिले यसलाई मानसिक तयारी (psychological preparation) भन्न सकिन्छ । उनले सम्भावित संकटको सामना गर्न आफ्नो मनलाई तयार बनाइरहेकी थिइन् | संकट आउनुभन्दा पूर्वनै सम्बन्धित सङ्कटको सामना गर्ने मानसिक तयारी गर्नु आधुनिक मनोवैज्ञानिक उपचार पद्धतिमा पनि महत्वपूर्ण मानिन्छ |

निर्धारित दिनमा सत्यवान् वनमा दाउरा काट्न बन गएका बेला सावित्री पनि उनीसँगै गइन् | काम गर्दै गर्दा सत्यवान् अचानक थकित भई सावित्रीको काखमा शिर राखेर बसे | केही समयपछि मृत्युका देवता यमराज त्यहाँ आए र सत्यवान्को प्राण लिएर हिँडे | यो अवस्था सामान्य मानिसका लागि अत्यन्त पीडादायक र भावनात्मक रूपमा असहनीय हुन्छ । तर सावित्रीले आफ्नो भावनालाई नियन्त्रण गरिन् | उनले विलाप वा निराशामा डुब्नुको सट्टा संयम र विवेक अपनाइन् । यही ठाउँमा भावनात्मक नियन्त्रण (emotional regulation) को उच्चतम उदाहरण देखिन्छ | आधुनिक मनोविज्ञानका अनुसार संकटको समयमा आफ्नो भावनालाई नियन्त्रण गर्न सक्ने व्यक्ति नै प्रभावकारी निर्णय गर्न सक्षम हुन्छ |

आफ्ना पतिको प्राण लिएर मृत्युलोकतिर प्रस्थान गरिरहेका यमराजका पछाडीपछाडी हिँड्न थालिन् र संवाद गर्न लागिन् | उनले अत्यन्त विनम्रता र तर्कसंगत ढङ्गले आफ्ना विचार प्रस्तुत गरिन् | यसलाई आधुनिक मनोविज्ञानमा प्रभावकारी संवाद (effective communication) भनिन्छ | उनले आक्रोश वा विद्रोहको बाटो अपनाइनन् | बरु सम्मानजनक र विवेकपूर्ण संवादद्वारा आफ्नो उद्देश्य प्राप्त गर्ने प्रयास गरिन् | यमराज सावित्रीको धैर्य र बुद्धिमत्ताबाट प्रभावित भए | उनले सावित्रीलाई वरदान माग्न अनुमति दिए | सावित्रीले पहिले आफ्ना अन्ध ससुरालाई दृष्टि प्राप्त होस् र उनको राज्य पुनः प्राप्त होस् भन्ने वरदान मागिन् | यसबाट सावित्रीको परोपकारी सोच (altruistic thinking) प्रकट हुन्छ । उनले पहिले आफ्नो व्यक्तिगत स्वार्थभन्दा परिवारको कल्याणलाई प्राथमिकता दिइन् |

पछि सावित्रीले आफ्ना पिता अश्वपतिलाई धेरै सन्तान प्राप्त होस् भन्ने वरदान मागिन् । यसले सावित्रीको व्यापक सामाजिक चेतना देखाउँछ । उनी केवल आफ्नो व्यक्तिगत दुःखमा केन्द्रित छैनन्, बरु सम्पूर्ण परिवारको कल्याणबारे सोचिरहेकी छन् | यस्तो सोचलाई आधुनिक मनोविज्ञानमा prosocial orientation भनिन्छ |

फेरी सावित्रीले अर्को वरदान मागिन्—“मलाई सत्यवान्बाट सन्तान प्राप्त होस् |” यमराजले त्यो वरदान पनि स्वीकार गरे । तर त्यसपछि सावित्रीले तर्क प्रस्तुत गरिन् कि यदि सत्यवान् जीवित छैनन् भने म कसरी सन्तान प्राप्त गर्न सक्छु ? यसरी सावित्रीले अत्यन्त कुशल रणनीतिक सोच (strategic thinking) प्रयोग गरिन् | यो समस्या समाधानको उत्कृष्ट उदाहरण हो | अन्ततः यमराज सावित्रीको बुद्धिमत्ता र निष्ठाबाट प्रभावित भएर सत्यवान्को जीवन फिर्ता दिन बाध्य भए | यस घटनाले एउटा महत्वपूर्ण मनोवैज्ञानिक सन्देश दिन्छ : मानव मनको शक्ति अत्यन्त प्रभावशाली हुन्छ । धैर्य, तर्क, प्रेम र मानसिक दृढताले असम्भव जस्तो देखिने परिस्थितिलाई पनि परिवर्तन गर्न सक्छ |

सत्यवान् तथा सावित्रीको कथाले दाम्पत्य सम्बन्धको मनोवैज्ञानिक आधार पनि स्पष्ट गर्दछ । यहाँ प्रेम केवल आकर्षण वा भावनात्मक आवेग होइन | यो दीर्घकालीन प्रतिबद्धता, सहानुभूति, सहयोग र साझा संघर्षको सम्बन्ध हो |सावित्रीले संकटको समयमा आफ्नो पतिलाई त्यागिनन् | बरु उनले परिस्थिति परिवर्तन गर्न सक्रिय प्रयास गरिन् |

यो कथाबाट आधुनिक दाम्पत्य परामर्शका लागि पनि महत्वपूर्ण शिक्षा प्राप्त हुन्छ | सम्बन्धमा समस्या आउँदा भावनात्मक नियन्त्रण, संवाद कौशल, धैर्य र सहानुभूति अत्यन्त आवश्यक हुन्छ । सावित्रीको व्यवहारले देखाउँछ कि संकटलाई बुद्धिमत्तापूर्वक सामना गर्दा सम्बन्ध अझ बलियो बन्न सक्छ | यो कथाले स्त्री व्यक्तित्वको मनोवैज्ञानिक शक्तिलाई पनि उजागर गर्दछ । सावित्री केवल करुणा र समर्पणको प्रतीक मात्र होइनन्, उनी विवेक, साहस र मानसिक दृढताको प्रतीक पनि हुन् | उनले परिस्थितिसँग संघर्ष गरेर आफ्नो लक्ष्य प्राप्त गरिन् | यसले स्त्रीलाई सक्रिय, बुद्धिमान् र शक्तिशाली व्यक्तित्वका रूपमा प्रस्तुत गर्दछ |

समग्रमा सत्यवान्–सावित्रीको कथा मानव मनको गहिरो शक्ति, प्रेमको सच्चा अर्थ र दाम्पत्य सम्बन्धको मनोवैज्ञानिक आधारको उत्कृष्ट उदाहरण हो । यो कथाले देखाउँछ : प्रेम केवल भावनात्मक अनुभव होइन, बरु मानसिक दृढता, तर्कशीलता, सहानुभूति र आत्मबलको समन्वय हो | सावित्रीको चरित्रले मानव मनको सम्भावनालाई उजागर गर्दछ—यदि मन स्थिर, बुद्धि स्पष्ट र उद्देश्य दृढ छ भने जीवनका कठिनतम परिस्थितिहरू पनि परिवर्तन गर्न सकिन्छ ।

यही कारणले सत्यवान्–सावित्रीको कथा आधुनिक परिवेशमा केवल धार्मिक कथा मात्र नभई मानव मनोविज्ञान, दाम्पत्य जीवन र जीवन संघर्षको गहिरो अध्ययनका रूपमा महत्त्वपूर्ण स्वीकार गरेर प्रेरणा प्राप्त गर्नुपर्छ । यो कथा प्रेम, करूणा, पतिप्रतिको निस्वार्थ समर्पण र मानसिक शक्तिको अद्भुत समन्वयको अमर उदाहरण हो, जसले मानव जीवनलाई प्रेरणा र मार्गदर्शन प्रदान गरिरहन्छ | आधुनिक दाम्पत्यको अर्थ केवल स्वार्थ अर्थात् निजी अधिकारको मात्र रक्षा हो भन्ने मनोबैज्ञानिक अतिवादका विरुद्ध सावित्री र सत्यवानको यो कथा वैदिक प्रेरणा र सांस्कृतिक विद्रोह हो |

अन्त्यमा सत्यवान् र सावित्रीको कथा एउटा प्राचीन मिथक हुन् सक्छ तर यसले दाम्पत्यजीवनमा एकअर्काप्रतिको समर्पण हुँदा ठूलो सङ्कट सजिलै तर्न सकिन्छ भन्ने प्रेरणा प्रदान गर्छ | तराईमा बट-सावित्रीको ब्रतका रूपमा यो कथाबाट दम्पतिले प्रेरणा लिन्छन् भने महाकवि लक्ष्मीप्रसाद देवकोटाले “सावित्री-सत्यवान्” नामक लघुकाव्यनै लेखेर यसको विषयवस्तुको महत्वलाई अंगीकार गरेका छन् |