प्रतिनिधिसभा निर्वाचनमा ६० प्रतिशत मतदानः निर्वाचन आयोग


काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले बिहीबार साँझ पत्रकार सम्मेलन गरी ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा कर्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको बताए । उनले सबै क्षेत्रका मतपेटिका संकलन गरेर प्रक्रियाअनुसार मतगणना सुरु हुने जानकारी दिए ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दल प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भएको हो ।

यस निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । निर्वाचनमा एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम छन् ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको थियो । १४३ अस्थायी मतदानस्थल तय भएका थिए । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको थियो ।

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका थिए ।