काठमाडौँ । डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर फर्कँदै गरेकी ९० वर्षीया शान्ता रेग्मीले जीवनमा कति पटक मतदान गरिन् भन्ने ठ्याक्कै सम्झना छैन ।
एउटै कुराको सम्झना भने उनलाई स्पष्ट छ, विगतका चुनावमा मत दिएका धेरै नेताहरू जितेर गए, तर अधिकांशले जनतासँग गरेका वाचा पूरा गर्न सकेनन् । कतिपय त फर्केर पनि आएनन् । ‘अब त हामी डाँडापारिको घाम जस्तै भइसक्यौँ,’ उनले भनिन्, ‘हामीले दुःख पाए पनि हाम्रो नातिनातिना र छोराछोरीले दुःख नपाउन् भन्ने चाहना छ ।’
उनकी नातिनी विदेशमा छिन् । रेग्मीलाई लाग्छ देशमै रोजगारीको राम्रो वातावरण भइदिए युवापुस्ता विदेश जान बाध्य हुने थिएनन् । ‘देशमै काम पाइयो भने किन विदेश बस्नुपर्थ्यो र ?’ उनी प्रश्न गर्छिन् ।
डिल्लीबजारकै अर्का मतदाता गोकुल धितालले भने विगतलाई पूर्ण रूपमा निराशाजनक रूपमा लिएका छैनन् । उनी देशमा केही काम भएको मान्छन्, तर जनताको अपेक्षाअनुसार पर्याप्त भने हुन सकेको छैन । ‘धेरै पटक मतदान गरियो । विगतमा केही पनि भएन भन्न मिल्दैन,’ उनी भन्छन्, ‘तर हाम्रो अपेक्षा जति छ, त्यति काम भएन ।’ उनको विचारमा अहिलेको प्रमुख आवश्यकता सुशासन र रोजगारी हो ।
नयाँ पुस्ता, विशेषगरी ‘जेन जेड’ को अपेक्षा सम्बोधन गर्नुपर्नेमा उनको जोड रहेको छ । ‘युवाको विश्वास जित्न सके मात्रै देशको भविष्य बलियो हुन्छ,’ उनले भने। आज जेन जेड आन्दोलनपछि विशेष परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचन भइरहेको छ ।

प्रतिक्रिया