काठमाडौँ । पूर्वप्रहरी कर्मचारी परिषद् नेपालले हालै सार्वजनिक भएको बीबीसीको अनुसन्धानात्मक रिपोर्टप्रति गम्भीर आपत्ति जनाउँदै त्यसले प्रहरी संगठनको बदनाम गर्ने, मनोबल गिराउने तथा घटनाको छानबिन प्रक्रियालाई प्रभावित पार्ने प्रयास गरेको आरोप लगाएको छ ।
परिषद्ले सोमबार जारी गरेको विज्ञप्तिमा भदौ २३ गतेदेखि सुरु भएको आन्दोलनका क्रममा भएका घटनासम्बन्धी विवरणलाई तथ्य लुकाएर, अतिरञ्जित ढंगले र एकपक्षीय रूपमा प्रस्तुत गरिएको दाबी गरिएको छ। विज्ञप्तिमा आन्दोलनको क्रममा संसद् भवन जलाउने प्रयास, अदालत र प्रहरी कार्यालयमा तोडफोड, सिंहदरबार प्रवेशजस्ता घटनालाई सही सन्दर्भमा नदेखाइएको उल्लेख गरिएको छ।
परिषद्का अनुसार, सुरक्षाकर्मीले कानुनअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्दा राष्ट्र र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु कर्तव्य हो । ’मुलुकमा कानुनभन्दा माथि कोही हुन सक्दैन’, विज्ञप्तिमा उल्लेख छ, ’राज्य कानुनविहीन रहन सक्दैन र कानुनको दायराभित्र रहेर काम गर्नु दायित्व हो ।’
विज्ञप्तिमा छानबिन तथा मूल्यांकनको कार्य कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायबाटै हुनुपर्ने उल्लेख गर्दै बाह्य प्रभाव वा पूर्वाग्रही रिपोर्टले निष्पक्ष अनुसन्धानमा असर पार्न नहुने धारणा व्यक्त गरिएको छ । साथै सुरक्षा निकायलाई ’रक्षक हो, भक्षक होइन’ भन्ने सन्देश दिँदै स्पष्ट नीतिगत व्यवस्था र कानुनी मार्गदर्शन आवश्यक रहेकोमा जोड दिइएको छ।
परिषद्ले नेपाल प्रहरीको ऐतिहासिक योगदान स्मरण गराउँदै देश निर्माण र प्रजातान्त्रिक व्यवस्थाको क्रमिक विकासमा सुरक्षाकर्मीको भूमिकालाई नजरअन्दाज गर्न नहुने बताएको छ। विज्ञप्तिमा राष्ट्र र नागरिक सुरक्षाप्रति प्रहरीको समर्पण सधैं कायम रहने प्रतिबद्धता पनि दोहोर्याइएको छ।


प्रतिक्रिया