काठमाडौँ । नेपाली सेनाले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको जनाएको छ । आइतबार सैनिकजनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गरी नेपाली सेना एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध निकायहरूसँग समन्वय र सहकार्य गरी आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको जनाएको हो ।
सेनाले विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि निर्वाचनको क्रममा मतदान समापन भए पश्चात् स्थापित प्रोटोकल अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधिहरू एवं नेपाली सेना सहितको एकीकृत टोलीले मतगणना स्थलसम्म मतपेटिका ढुवानी गर्ने उल्लेख गरेको छ ।
सेनाले विज्ञप्तिमा भनेको छ, ‘वि.सं.२०४८ सालको प्रतिनिधि सभा निर्वाचनदेखि सम्पन्न सबै निर्वाचनहरूमा नेपाली सेना परिचालन भई मतपत्र छपाई स्थलको सुरक्षा, काठमाडौंबाट देशका सबै जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, निर्वाचनको दौरान तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्नुका साथै निर्वाचन समापन भए पश्चात् संयुक्त टोलीले सुरक्षा प्रदान गरी मतपेटिकालाई मतगणना स्थलसम्म पुर्याउने जिम्मेवारी निर्वाह गर्दै आएको ब्यहोरा समेत सबैमा जानकारी गराउन चाहन्छौं ।’


प्रतिक्रिया