कास्की-१ को निर्वाचनः शिक्षा, साहित्य र डिजिटल सक्रियताबाट नीतिगत नेतृत्वतर्फको यात्रामा पौडेल


पोखरा । कास्की निर्वाचन क्षेत्र नं. १ यतिबेला सामान्य चुनावी प्रतिस्पर्धाको घेराभन्दा बाहिर उभिएको छ । यहाँको बहस केवल प्रतिनिधिसभा सदस्य चयनमा सीमित छैन । मतदाताहरुको बीचमा वैकल्पिक राजनीतिक संस्कार, अध्ययनमुखी नेतृत्व र उत्तरदायी शासनको सम्भावनाबारे गम्भीर वहस शुरु भएको छ । यही बहसको केन्द्रमा छन् राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खडकराज पौडेल(गनेस) ।

शिक्षण, साहित्य, अनुसन्धान र डिजिटल सक्रियताको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका पौडेल परम्परागत राजनीतिलाई नजिकबाट बुझेका व्यक्ति हुन् । उनले आफ्नो उम्मेदवारीलाई सत्ता प्राप्तिको दौडभन्दा माथि उठेर नीतिगत हस्तक्षेपको अवसरका रूपमा प्रस्तुत गरेका छन् । यही कारण उनका समर्थकहरू उनलाई सांसदका दाबेदारसँगै आगामी बन्ने सरकारका एक सम्भावित मन्त्रीका रुपमा हेर्न थालेका छन् ।

व्यवस्थापनमा स्नातकोत्तर तथा अंग्रेजी साहित्यमा स्नातक पौडेलले १५ वर्षभन्दा बढी समय शिक्षण क्षेत्रमा बिताएका छन् । विभिन्न शैक्षिक संस्थामा प्राचार्य तथा नेतृत्वदायी भूमिकामा रहँदा उनले व्यवस्थापन, अनुशासन र परिणाममुखी अभ्यासलाई जोड दिए । शिक्षण संस्थाको अनुभवले उनलाई नीति र कार्यान्वयनबीचको दूरी बुझ्ने अवसर दिएको उनी निकटवर्तीहरू बताउँछन् । ‘नीति निर्माण गर्ने ठाउँमा अध्ययनशील र व्यवहारिक अनुभव भएको व्यक्ति पुग्नुपर्छ’ भन्ने उनको अभिव्यक्ति चुनावी भाषण मात्र नभई आत्मपहिचानजस्तै सुनिन्छ ।

राजनीतिमा सक्रिय हुनुअघि नै साहित्यिक वृत्तमा परिचित पौडेलले ’पैताला’ र ’मुसा मानुष’ जस्ता कृतिहरू प्रकाशन गरिसकेका छन् । अमेरिकी लेखक जोन स्टेनबेकको चर्चित उपन्यास ’अफ माइस एण्ड’को नेपाली अनुवादमार्फत उनले विश्व साहित्यलाई स्थानीय पाठकमाझ पुर्याउने प्रयास गरेका छन् । उनी साहित्यलाइ सामाजिक चेतना निर्माणको आधार ठान्छन् । ’विचार नबद्लिए राजनीति बदलिँदैन’ भन्ने उनको धारणा चुनावी एजेन्डाभन्दा परको वैचारिक विषय हो ।

डिजिटल युगसँग तालमेल राख्दै पौडेलले ’र्याण्डम रिडर्स सोसाइटी’ स्थापना गरेका छन् भने ‘बुकलिफ्टर’ नामक डिजिटल पुस्तकालय सञ्चालन गर्दै आएका छन् । सार्वजनिक बहस, अध्ययन–अनुसन्धान र ज्ञानको पहुँचलाई लोकतन्त्रको आधार मान्ने पौडेल सामाजिक सञ्जाललाई केवल प्रचारको माध्यम नभई प्रत्यक्ष संवादको थलो बनाउने प्रयासमा देखिन्छन् । सामाजिक सञ्जालका माध्यमहरुबाट समेत नियमित विचार, प्रत्यक्ष अन्तक्र्रिया तथा विभिन्न अभियानले उनलाई विशेषतः युवा मतदातासँग जोडेको छ ।

कास्की–१ को भौगोलिक र सामाजिक संरचना विविध छ । पोखरा महानगरपालिकाका विभिन्न वडासहित मादी र रूपा गाउँपालिकाका क्षेत्र समेटिएको यो निर्वाचन क्षेत्र पर्यटन, कृषि, सेवा र वैदेशिक रोजगारीमा निर्भर छ । तर बेरोजगारी, कृषि बजारको अस्थिरता, शिक्षाको गुणस्तर र शहरी व्यवस्थापनका चुनौतीले मतदातामा असन्तोष पनि देखिन्छ । यही पृष्ठभूमिमा पौडेलले सार्वजनिक गरेको ’वाचापत्र २०८२’ लाई उनले तीन सातासम्मको प्रत्यक्ष जनसंवादपछि तयार पारिएको दस्तावेज बताएका छन् । शहिदप्रति श्रद्धाञ्जलीबाट सुरु हुने उक्त वाचापत्रलाई उनले ’कागजी वाचा होइन, साझा जीवनको प्रतिबिम्ब’ भनेका छन् ।

शिक्षालाई प्राथमिकतामा राख्दै उनले प्रारम्भिक तहदेखि कक्षा १२ सम्म निःशुल्क शिक्षा, पढ्दै–कमाउँदै मोडल, शिक्षक सेवा–सुरक्षा सुनिश्चितता र प्रविधिमैत्री पुस्तकालय विस्तारको योजना अघि सारेका छन् । स्वास्थ्य क्षेत्रमा आधारभूत सेवा निःशुल्क, बीमा सुधार र डिजिटल स्वास्थ्य रेकर्ड प्रणालीको प्रस्ताव अघि सारेका छन् । पर्यटनतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी उपयोग, पदमार्ग विस्तार र इको–टुरिज्म सर्किट विकासको अवधारणा प्रस्तुत गरिएको छ । कृषि र रोजगारी क्षेत्रमा शीतभण्डार, किसान बजार, स्टार्टअप कोष र श्रम बैंकजस्ता प्रस्तावले उत्पादन र अवसरमा जोड दिएको देखिन्छ ।

यदि आगामी सरकार रास्वपाले बनाउने अवस्थामा शिक्षा, युवा, संस्कृति वा सुशासनसम्बन्धी मन्त्रालयमा पौडेलजस्ता बौद्धिक पृष्ठभूमि भएका नेताको सम्भावना बलियो हुन सक्ने यतिबेला राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । यद्यपि यो अनुमान भविष्यको समीकरणमा निर्भर छ, तर यसले उनको उम्मेदवारीलाई नीति निर्माण कार्यसँगसँगै कार्यान्वयनको बाटोसम्म जोड्ने देखाउँछ ।

कास्की–१ को यो प्रतिस्पर्धा परम्परागत राजनीतिक निरन्तरता र वैकल्पिक नीतिगत नेतृत्वबीचको छनोटजस्तो देखिन्छ । खडक राज पौडेल (गनेस)को उम्मेदवारीले निर्वाचनलाई राजनीतिक संस्कार र दृष्टिकोणको बहसमा रूपान्तरण गरेको मतदाताहरुले बताउने गरेका छन् । निर्णय मतदाताको विवेकमा भर पर्छ यद्यपि यसपटक कास्की–१ को चुनावी परिणाम विगतभन्दा फरक भने पक्कै देख्न सकिन्छ ।