निर्वाचनमा बालबालिकाको दुरुपयोग रोक्न नेशनल प्याब्सनको आग्रह


काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले निर्वाचनको समयमा बालबालिकाको दुरुपयोग रोक्न आग्रह गरेको छ ।

शुक्रबार नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपाने र महासचिव प्रकाशचन्द्र खड्काले संयुक्त विज्ञप्ति जारी गरी विगतका वर्षहरुमा विभिन्न राजनैतिक आन्दोलन र निर्वाचनमा पटक–पटक बालबालिकाको दुरुपयोग भएको भन्दै त्यस्तो कार्य नगर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय शान्ति क्षेत्रको प्रतिवद्धता सबै पक्षबाट भएतापनि फाल्गुन २१ गते सम्पन्न हुन गइरहेको निर्वाचनमा झण्डै ८६ प्रतिशत मतदान केन्द्र विद्यालयमै रहनुले, विद्यार्थीहरु लामो समयसम्म शिक्षण सिकाइबाट वञ्चित रहने र निर्वाचन सम्पन्न भैसकेपछि मतदान केन्द्र रहेका विद्यालयहरुको सरसफाइमा ध्यान नजानु, सामाजिक सञ्जालहरुमा बालबालिकको प्रयोग हुनु, नेताहरु र उम्मेदवारहरुको सम्मानमा बालबालिका प्रयोग हुनु, नारा जुलुसहरुमा बालबालिकाको प्रयोग हुनु, राजनीतिक गतिविधिमा कसैको पक्षपोषण गर्नका निम्ति, भ्रामक समाचार, सनसनीपूर्ण समाचारमा बालबालिकाको प्रयोग हुनु, यी सबै अशोभनीय र बालबालिकाको नैसर्गिक अधिकार विरुद्धका गतिविधिहरु भएकाले यस्ता गतिविधिहरु फेरिपनि नदोहोरिनका लागि र निर्वाचन आचारसंहितालाई पूर्ण रुपमा पालना गरी मर्यादित, व्यवस्थित र अनुशासित ढंगले निर्वाचन सम्पन्न गर्नमा सबैको महत्वपूर्ण योगदानको हार्दिक अपील गर्दछौं ।’