धरान (सुनसरी) । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले राष्ट्रिय स्वाधिनता कुनै पनि विकासभन्दा महत्त्वपूर्ण विषय भएको बताएका छन्। शुक्रबार धरानमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उनले देश निर्माणको आधार स्वाधिनता, श्रम र जनसहभागिता भएको उल्लेख गरे।
यही २१ गते हुने निर्वाचनलाई सही नेतृत्व चयन गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै अध्यक्ष राईले गफभन्दा काम गर्ने उम्मेदवारलाई मत दिन अपील गरे। ‘निर्वाचन भनेको चुन्ने प्रक्रिया हो, त्यसैले जनताले सोचेर निर्णय गर्नुपर्ने समय आएको छ । अब सबै मिलेर देश बनाउनुपर्छ, बचाउनुपर्छ,’ उनले भने, ‘देशभर श्रम संस्कृतिको अभियान विस्तार गर्न आवश्यक छ।’ विदेशमा श्रम बेच्न बाध्य नेपाली युवाको अवस्थालाई परिवर्तन गर्न स्वदेशमै श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
सामाजिक विभेद अन्त्य गर्दै सत्य र तथ्यमा आधारित राजनीति आवश्यक रहेको उनको भनाइ थियो। आगामी निर्वाचनपछि सक्षम र जिम्मेवार नेतृत्व चयन भए जनसहभागितामा आधारित विकास अभियानले गति लिने उनले विश्वास व्यक्त गरे।

प्रतिक्रिया