लुम्बिनी प्रदेशका तत्कालीन सचिव ढुङ्गानासहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय नेपालगंज बाँकेका तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनार, लुम्बिनी प्रदेशका तत्कालीन सचिव उमेश ढुंगानासहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यातायात व्यवस्था कार्यालय नेपालगञ्ज बाँकेमा कार्यालय प्रमुख हुँदा भ्रष्टाचार गरेको भन्दै बिहीबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यातायात व्यवस्था कार्यालय नेपालगन्जमा भारतीय चोरीका तीनवटा गाडी आर्थिक लेनदेन गरी दर्ता गरेको र बाहिर हल्ला भएपछि संलग्न कर्मचारीहरूले ती तीन वटा गाडी मध्ये एउटा गाडीको दर्ता बदर गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

सोही उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादीहरुले अन्य प्रतिवादीहरू सँगको मिलेमतोमा गैरकानुनी लाभ प्राप्त गर्ने बदनियत राखी कसुर गरेको अख्तियारले दाबी गरेको छ ।