काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सीके राउतले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
बिहीबार राउतले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उनले सप्तरीमा विगतका दशकदेखि डर, त्रास, असुली र ’जंगलराज’ रहेको दाबी गर्दै त्यसलाई अन्त्य गरी पूर्ण शान्ति र सुव्यवस्था कायम गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । उनले निर्दोष जनतालाई झुठा मुद्दामा फसाउने प्रवृत्तिको अन्त्य गर्ने दृढता व्यक्त गरेका छन् ।
उनले राजविराज नगरपालिकामा रहेको बिटोरी जग्गासम्बन्धी समस्याको समाधान गर्ने, यस क्षेत्रका विभिन्न टोलका जनताले नागरिकता नपाइरहेको, वृद्ध भत्ता तथा अपाङ्ग कार्ड नपाइरहेको सम्बन्धमा पनि ठोस पहल गरी समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, विगतका अधूरा योजनाहरू पूरा गर्ने÷ योजना कार्यान्वयन गर्ने तथा राजविराज नगरपालिकामा रहेको हटियाको भवन÷गिलेशनमा रहेको डिजाइन सम्बन्धित पक्षको सल्लाहमा त्रुटि सच्चाउँदै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । उनले राजविराज बसपार्क निर्माण भइसकेर हस्तान्तरण भए तापनि सञ्चालन हुन नसकेकोले सो सञ्चालन गराउने उल्लेख गरेका छन् ।
प्रतिबद्धता-पत्र
आदरणीय सप्तरीवासी दाजुभाइ तथा दिदीबहिनीहरू,
सप्तरीको महदेवा गाउँमा जन्मिएर, यहीँको धुलो-माटोमा हुर्किएर, बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि (PhD) गरी संयुक्त राज्य अमेरिकामा वैज्ञानिकको रूपमा काम गरे पनि आफ्नो मातृभूमिको सेवा गर्न १५ वर्ष अगाडि म सबै सुख-सुविधा त्यागेर तपाईंहरूकै बीचमा आई निरन्तर तपाईंहरूकै लागि संघर्ष गर्दै आएको छु। जनताको हकअधिकारको लागि लड्ने क्रममा २४ भन्दाबढी पटक जेलनेल भोगें, ११ दिन आमरण अनशन बसें, तथा राज्यबाट कैयन् यातना भोगें। प्रहरीद्वारा हाथखुट्टा भाँचिए पनि तथा अनेकौं प्रताडना दिइए तापनि बुद्ध र गांधीको पथमा अग्रसर हुँदै शान्ति र अहिंसाको माध्यमबाट नै जनताको लागि संघर्ष गरिरहें। सोही क्रममा जनमत पार्टीको राष्ट्रिय अध्यक्षको रूपमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा पुनः सप्तरी निर्वाचन क्षेत्र नं. – २ बाट उम्मेदबार बन्ने अवसर प्राप्त भएको छ। विगतमा पटक-पटक शासकहरूले सप्तरीलाई उपेक्षा गरेर देशकै अविकसित जिल्लाहरूमध्ये एक बनाए तापनि अब यो अवस्था बदल्ने समय आएको छ। तपाईंको अमूल्य मतले विजयी भएमा म आगामी कार्यकालमा निम्न बुँदाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दछुः
१. शान्ति तथा सुव्यवस्थाः विगतका दशकमा सप्तरीमा रहेको डर, त्रास, वसूली, अपहरण, हत्या, हिंसा, मुद्दा-मामिला, कुटपिट र धम्कीको जंगलराज तथा गुण्डाराजलाई समाप्त पार्दै, पार्टी कार्यालय, पसल, व्यवसाय, स्कूल-कलेज, कलकारखाना तथा निजी आवासमा समेत आगजनी गर्ने तथा लूट्ने अराजक प्रवृत्तिलाई अन्त्य गर्दै, राज्यका कर्मचारी, प्रहरी र प्रशासनलाई मिलाएर वा प्रलोभन दिएर निर्दोष आम-जनतालाई फसाउने, यातना दिने, पक्राऊ गराउने र झूठा मुद्दा लगाउने जस्ता तत्त्वहरूलाई परास्त गर्दै सबै जात-जाति, धर्म, वर्ग र समुदायका जनताले शान्तिपूर्वक अमन-चैनले बस्न पाउने, शिक्षा आर्जन गर्न सक्ने, सेवा-सुविधा लिन पाउने, र रोजगारी तथा व्यवसाय गर्न पाउने वातावरण निर्माण गरिराख्नेछौं।
२. जनता-राजः विगतमा हाम्रो तर्फबाट जनसम्पर्क कार्यालय खोलेर तथा जनगुनासो पेटिका राखेर जनतालाई दिनहुँ सेवा प्रदान गरिँदै आएकोमा त्यसलाई निरन्तरता दिइनेछ। साथै विगतमा हामीले हरेक वर्ष हरेक टोलमा गएर ‘दलान दलिल’ कार्यक्रम गरी जनतासँग छलफल गरेर योजना संकलन गर्दै र त्यसलाई पूरा गर्न संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै आएकोमा त्यसलाई निरन्तरता दिइनेछ।
३. स्थानीय जनताको समस्याको समाधानः राजबिराज नगरपालिकामा रहेको बिटोरी जग्गासम्बन्धी समस्याको समाधान गर्नेछौं। यस क्षेत्रका विभिन्न टोलका जनताले नागरिकता नपाइरहेको, वृद्ध भत्ता तथा अपाङ्ग कार्ड नपाइरहेको सम्बन्धमा पनि ठोस पहल गरी समाधान गर्नेछौं।
४. विगतका अधूरा योजनाहरू पूरा गर्ने/ योजना कार्यान्वयन गर्नेः राजबिराज नगरपालिकामा रहेको हटियाको भवन/गिलेशनमा रहेको डिजाइन सम्बन्धित पक्षको सल्लाहमा त्रुटि सच्चाउँदै सञ्चालनमा ल्याउने प्रतिबद्धता गर्दछौं। राजबिराज बसपार्क निर्माण भइसकेर हस्तान्तरण भए तापनि सञ्चालन हुन नसकेकोले सो सञ्चालन गराउनेछौं। राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालका नयाँ अस्पताल भवनहरू सञ्चालनमा ल्याउने तथा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम समेत अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौं। राजबिराज-१५ मा रहेको अधूरो कोल्ड स्टोर निर्माण सम्पन्न गराउने प्रतिबद्धता समेत गर्दछौं। राजबिराज-१३ मा रहेको मधेश कृषि विश्वविद्यालयको निर्माण कार्य सम्पन्न गराउने प्रतिबद्धता गर्दछौं। अलपत्र पारिएको र सप्तरीलाई नै कालो सूचीमा बस्न बाध्य बनाएको ‘कन्या छात्रावास’ जस्ता योजनाहरू पनि सम्पन्न गराउनेछौं।
त्यसैगरी प्रतिनिधि सभाको प्रत्यक्ष १६५ सिटमध्ये १ सिट मात्रै जित्दा पनि सप्तरी-२ मा ८०० भन्दा बढी योजनाहरू र अभूतपूर्व रूपमा बजेट ल्याएर विकासको बाढी ल्याऔं, तर कार्यकाल साढे-दुई वर्षपछि मध्य-समयमा नै अकस्मात् टुँगिदा योजनाहरू कार्यान्वयनको प्रक्रियामा नै भएको हुँदा त्यसलाई निर्वाचित भए पछि सम्पन्न गराउने प्रतिबद्धता गर्दछौं।
५. शिक्षा र स्वास्थ्यः साक्षरता कार्यक्रम संचालन गरी यस क्षेत्रलाई अविलम्ब साक्षर बनाइनेछ भने शिक्षाको स्तर उकास्नका लागि पनि पहल गर्नेछौं। त्यसैगरी मुख्यमन्त्री घरदैलो स्वास्थ्य सेवा अन्तर्गत आमजनताको पहुँच स्वास्थ्य सेवासम्म सुनिश्चित् गरिनेछ। यस क्षेत्रमा रहेका अस्पतालहरूको सेवा-प्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाउनेछौं। सप्तरीलाई शिक्षा र स्वास्थ्यको हबको रूपमा विकास गर्नेछौं।
६. रोजगारी: सप्तरीमा IT Park, कल सेन्टर, कोडिंग आर्मी, एसेम्बली लाईन जस्ता जनमत पार्टीले ल्याएका परियोजनाहरूलाई कार्यान्वयनमा ल्याएर हजारौं युवाहरूले रोजगारी पाउने वातावरण बनाउने छौं। कैयन् ठाउँमा निर्माण सम्पन्न भइसकेका तथा दर्जनौं ठाउँमा निर्माण भइरहेका ‘ग्राम उद्योग भवन’को निर्माण सम्पन्न गराएर हजारौं ग्रामीण महिलाहरूलाई आफ्नै गाउँमा रोजगार प्रदान गरिनेछ।
७. औद्योगीकरणः कुनौलीमा ड्राइपोर्ट निर्माण गरी कुनौली-राजविराज-रूपनी औद्योगिक कोरिडोर बनाएर अगाडि बढिनेछ भने यस क्षेत्रमा विशेष आर्थिक क्षेत्र (SEZ) निर्माण गरी कृषिलाई उद्योगसँग जोडिनेछ। राजबिराज औद्योगिक क्षेत्रमा समेत बाहिरका लगानीकर्त्ता र उद्ममीहरूलाई उद्योग खोल्न प्रोत्साहित गरिनेछ। यसले यस क्षेत्रमा रोजगारीका प्रशस्त अवसरहरू समेत सिर्जना गर्नेछन्।
८. कृषिः कृषि विद्युतीकरणको योजनालाई कार्यान्वयन खेत-खेतमा पानी पुग्ने गरी सिँचाईंको समस्यालाई समाधान गरिनेछ। साथै, मलखाद वितरणमा हुने अनियमितता रोकी किसानको लागि मलखादमा सहज पहुँचको पहल गरिनेछ भन्ने किसानको उपजको लागि उचित मूल्य पाइने व्यवस्था गरिनेछ।
९. पर्यटनः यस निर्वाचन क्षेत्रमा रहेको प्रख्यात छिन्नमस्ता भगवती स्थलमा आउनसक्ने लाखौं भक्तजनहरूलाई मध्यनजर गर्दै विभिन्न भौतिक पूर्वाधार निर्माण गरी पर्यटन अभिवृद्धि गरिनेछ।
१०. पर्यावरणः यस क्षेत्रमा रहेका खाँडो, जीता, मुतनी, घोडदह, भलुवाही आदि नदीबाट हुने भूकटान तथा बाढीको नियन्त्रण गरिनेछ।
११. युवा, महिला तथा खेलकुदः युवा, महिला, दलित तथा विपन्नलाई लक्षित गरेर विभिन्न स्वरोजगार, सीपमूलक तथा आयमूलक कार्यक्रमहरू ल्याइनेछ भने खेलकुदमा प्रोत्साहन गर्न राज रंगशाला, प.वि. विद्यालय, चकला, परसाही, बरही आदि ठाउँका खेलकुद मैदानहरूको स्तरोन्नति गर्नुका साथै खेलाडीलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउनेछौं।
१२. जंगलराजबाट स्पेश र AI को युगः राजबिराज-१० मा मधेश स्पेश सेन्टरको प्रारम्भिक भौतिक संरचना निर्माण भइसकेको हुँदा त्यसलाई संचालनमा ल्याएर मोनिटरिङ्ग सिस्टमको रूपमा प्रयोग गरिनेछ। साथै School of AI & Robotics को योजनाको लागि बजेट समेत विनियोजन भइसकेको हुँदा सोलाई कार्यान्वयन गरी मधेशलाई पछौटेपनको होइन, स्पेश तथा AI को हबको रूपमा परिचित गराइनेछ।
दमन शोषण अन्त्य गरौं, शान्ति-सुरक्षा कायम गरौं, विकासको मुहान फुटाऔं।

प्रतिक्रिया