पतिपत्नी एकआपसमा जिस्किनु जीवनको प्रेमरस हो


-डा. गोविन्दशरण उपाध्याय ।

दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन । यो त हाँसो, मुस्कान, कोमल ठट्टा, मायालु जिस्क्याइ र आत्मीय संवादले भरिएको जीवनयात्रा हो । पति–पत्नीबीचको जिस्किनु, सामान्य ठट्टा वा प्रेमिल चिढ्याइलाई कतिपयले हल्का रूपमा लिन्छन् । तर वास्तवमा यही जिस्किनु दाम्पत्यको गहिरो भावनात्मक सेतु हो । जहाँ जिस्किनु हराउँछ, त्यहाँ संवाद सुक्खा बन्छ, जहाँ संवाद सुक्खा बन्छ, त्यहाँ प्रेम बिस्तारै औपचारिकतामा सीमित हुन थाल्छ । यदि पतिपत्नी एकआपसमा जिस्किन, छिल्लिन र हाँसीमजाक गर्न सक्दैनन् भने त्यस्तो दाम्पत्यजीवन रसिलो हुँदैन ।

मानिसको मन कठोर आदेशले होइन, सरल र कोमल हाँसोले खुल्छ । दाम्पत्यमा पनि यही लागू हुन्छ । जिस्किनु भनेको अपमान होइन, आपसी प्रेमको अधिकार हो । “तिमी मेरो हौ, म तिमीलाई मुस्कानका साथ छुन सक्छु” भन्ने आत्मीय संकेत हो । पति–पत्नीबीचको जिस्किनु त्यहीँ सम्भव हुन्छ, जहाँ भरोसा हुन्छ, सुरक्षाको गहिरो विश्वास र अनुभूति हुन्छ तथा आपसी सम्बन्धमा निर्भय हुन्छ । यदि सम्बन्ध कमजोर छ भने जिस्किनु चोट बन्छ । विवाद र मानसिक चोटको कारण बन्छ । यदि सम्बन्ध बलियो छ भने जिस्किनु औषधि बन्छ ।

हाम्रो सांस्कृतिक चेतनामा प्रेमलाई गम्भीर र संयमित रूपमा मात्र बुझ्ने प्रवृत्ति देखिन्छ । विशेष गरी विवाहित जीवनमा हाँसो र खेलोपनलाई ‘अपरिपक्वता’ ठान्ने दृष्टि पनि छ । तर वैदिक–पौराणिक परम्पराले प्रेमलाई सधैं गम्भीर मात्र देखाएको छैन । प्रेममा लीलाभाव छ, खेल छ, मुस्कान छ । यही कारण कृष्ण–रुक्मिणीको दाम्पत्य प्रेम केवल त्याग र समर्पणमा सीमित छैन, त्यहाँ जिस्किनु, प्रेमसंवाद र भावनात्मक खेल पनि प्रशस्त छ ।

श्रीमद्भागवतको दशौँ स्कन्धको प्रसंगमा देवी रुक्मिणी विदर्भकी राजकुमारी थिइन् । उनी अत्यन्त गम्भीर, मर्यादित र अत्यन्त विदुषी थिइन् । श्रीकृष्ण द्वारकाधीश, लीलामय, वाचाल, मुस्कानका स्वामी थिए । यी दुईको प्रेमसंवादमा जिस्किनु अत्यन्त सुन्दर रूपमा देखिन्छ । विवाहपछि एक प्रसङ्गमा कृष्णले रुक्मिणीलाई जिस्कँदै भन्छन्ः ‘तिमीले मलाई किन रोज्यौ ? म त न त धनी थिएँ, न ठूलो राज्यको राजा । तिमीसंग थुप्रै राजाहरूबीच एउटा राजालाई रोज्न सक्ने विकल्प थियो ।’ यो प्रश्न केवल आत्महीनता होइन, प्रेमिल चिढ्याइ हो । श्रीकृष्ण आफ्नी प्रेयसी रुक्मिणीको प्रेम, निष्ठा र समर्पणलाई जिस्किँदै उजागर गर्न चाहन्छन् । दाम्पत्यजीवनमा नक्कली कलह सृजना गरेर एकआपसमा प्रेम–साटासाट गर्न चाहन्छन् ।

देवी रुक्मिणी यस संवादमा भावुक हुन्छिन् । उनको आँखामा आँसु भरिन्छ । सुरुमा उनी निकै डराउछिन र वेहोस हुन्छिन् । तर पछि श्रीकृष्णले प्रेमपूर्ण हाँस्य गरेको कुरा प्रस्ट पारेपछि उनी सहज हुन्छिन् । उनले कृष्णको जिस्किनुलाई अपमान ठान्दिनन्, किनकि उनी बुझ्छिन्—यो प्रश्न प्रेमको परीक्षा होइन, प्रेमको खेल हो । यहीँ दाम्पत्य जिस्किनुको सार देखिन्छ । जहाँ श्रीमतीले श्रीमान्को शब्दको भाव बुझ्छिन् र श्रीमान्ले श्रीमतीको संवेदनशीलता सम्मान गर्छन्, त्यहाँ जिस्किनु गहिरो प्रेमको माध्यम बन्छ । श्रीकृष्णले संवादको अन्त्यमा प्रष्टसंग भनेका छन् “गृहस्थीमा पतिपत्नी एकआपसमा जिस्किनुको सारतत्व एकआपसमा प्रेम बढ्नु हो ।

अर्को प्रसङ्गमा कृष्णले रुक्मिणीलाई अत्यन्त मीठो ढंगले चुनौती दिन्छन् । उनी भन्छन्—“रुक्मिणी, तिमी त यति रूपवती छौ, मलाई जस्तो साधारण मान्छे किन मन परायौ ?’ यसमा बाह्य अर्थ हेर्दा कृष्ण आफैंलाई सानो बनाइरहेका छन् । तर भित्री अर्थमा उनी रुक्मिणीको प्रेमको गहिराइ जान्न चाहन्छन् । श्रीकृष्णको मनसाय आफ्नी प्रेयसी रुक्मिणीको अपमान गर्नु थिएन । रुक्मिणीको उत्तरमा प्रेमको परिपक्वता देखिन्छ । उनी भन्छिन् – ‘तपाईंको बाह्य सम्पत्ति होइन, तपाईंको अन्तरात्माको सौन्दर्यले मलाई बाँधेको हो ।’ यस्तो संवाद केवल गम्भीर भाषणमा सम्भव हुँदैन । यो जिस्किनुबाट जन्मिएको आत्मीय संवाद हो ।

दाम्पत्यमा एकआपसमा प्रेमिल तवरले जिस्किनुको अर्को ठूलो मनोवैज्ञानिक महत्व भनेको तनाव न्यूनीकरण हो । दैनिक जीवनका जिम्मेवारी, आर्थिक दबाब, सामाजिक अपेक्षा, बालबच्चाको चिन्ता—यी सबैले पति–पत्नीलाई थकित बनाउँछ । यदि घरभित्र केवल आदेश, गुनासो र गम्भीर संवाद मात्र हुन्छ भने मन थकाइ झनै बढ्छ । तर छोटो जिस्किनु, हल्का ठट्टा, ‘आज तिमी अलि धेरै गम्भीर देखियौ है’ भन्ने मुस्कानसहितको वाक्यले मनको भारी हलुका हुन्छ ।

श्रीकृष्ण–रुक्मिणीको दाम्पत्यमा पनि यो पक्ष स्पष्ट छ । श्रीकृष्ण राज्य सञ्चालन, युद्ध, कूटनीति जस्ता गम्भीर विषयमा संलग्न थिए । रुक्मिणी पनि राजमहलका जिम्मेवारीमा बाँधिएकी थिइन् । यस्ता परिस्थितिमा प्रेमिल संवाद र जिस्किनुले उनीहरूको सम्बन्धलाई केवल औपचारिक राजा–रानीको सम्बन्ध हुनबाट जोगायो । उनीहरू पति–पत्नी मात्र होइन, मित्र पनि बने । यसको सरल र सहज तात्पर्य के हो भने तपाईंको पद, प्रतिष्ठा, सम्पत्तिआदि दाम्पत्यजीवनमा एकअर्कालाई होच्याउने साधन बन्नु हुँदैन । असल दम्पत्तिहरू भौतिक आवरणका बन्धनहरू तोडेर एकान्तमा जिस्किन्छन् । औपचारिकता रहित प्रेम सबैभन्दा मीठो सुख हो ।
जिस्किनु दम्पतिका विचमा गहिरो मित्रताको संकेत पनि हो । जहाँ मित्रता छैन, त्यहाँ प्रेम दीर्घकालीन रहन गाह्रो हुन्छ । मित्रता भनेको समान स्तरमा उभिएर एक–अर्कालाई बुझ्नु हो । श्रीकृष्ण र रुक्मिणीबीच यही समानता देखिन्छ । श्रीकृष्ण रुक्मिणीलाई केवल ‘पत्नी’का रूपमा होइन, संवादको सहयात्रीका रूपमा हेर्छन् । त्यसैले जिस्किनु सम्भव हुन्छ ।

तर यहाँ एउटा महत्वपूर्ण सीमा पनि छ । जिस्किनु सधैं मर्यादाभित्र हुनुपर्छ । श्रीकृष्णको जिस्किनु कहिल्यै देवी रुक्मिणीको आत्मसम्मानमा चोट पुर्याउने खालको हुँदैन । उनले कहिल्यै सार्वजनिक रूपमा होस् वा एकान्तमा रुक्मिणीलाई हेप्दैनन् । यही कुरा आधुनिक दाम्पत्यका लागि पनि अत्यन्त महत्वपूर्ण छ । जिस्किनु प्रेमको भाषा हो, व्यङ्ग्यको हतियार होइन । यदि जिस्किनुले घाउ दिन थाल्यो भने त्यो प्रेम होइन, अहंकारको प्रदर्शन बन्छ । दाम्पत्यको अन्त्य बन्छ ।

दाम्पत्यमा जिस्किनुले संवादलाई जीवित राख्छ । धेरै दाम्पत्य सम्बन्ध संवादको अभावले टुट्छन् । दिनभरि सँगै बसे पनि मनको कुरा नबोलिने, भाव नखुल्ने स्थिति देखिन्छ । जिस्किनु संवाद सुरु गर्ने सबैभन्दा सहज ढोका हो । ‘आज तिमी त निकै व्यस्त देखियौ, मलाई बिर्सियौ कि क्या हो ?’ भन्ने वाक्यले संवाद खोल्छ । यसमा गुनासो पनि छ, प्रेम पनि छ । एकान्तालापमा श्लील र अश्लिलताको बन्धन तोडेर रमाइलो गर्दा असल नै हुन्छ ।

देवी रुक्मिणीको श्रीकृष्णप्रति प्रेम केवल मौन समर्पण होइन । उनी पनि आफ्ना भाव व्यक्त गर्छिन् । श्रीकृष्णको जिस्किनुले उनलाई बोल्न प्रेरित गर्छ । यही संवादात्मक प्रेम दाम्पत्यको सौन्दर्य हो । जहाँ दुवै मौन भए, त्यहाँ प्रेम बिस्तारै चिसिन्छ । श्रीकृष्ण र रुक्मिणीको सम्बादले प्राचीन वैदिक नारी र पुरुषका विचको एकआपसी सम्बाद, चिस्काई (Romance) र त्यसबाट स्थापित भएको स्थायी तर प्रेमिल दाम्पत्यको जीवन्त उदाहरणका रुपमा बुझ्नुपर्छ ।

पतिपत्नी एकआपसमा जिस्किनु जीवनको प्रेमरस हो । जस्तो खाना नुन बिना स्वादहीन हुन्छ, दाम्पत्य पनि हाँसो र खेलाँचीपन बिना नीरस हुन्छ । श्रीकृष्ण तथा देवीरुक्मिणीको प्रेमसंवादले हामीलाई सिकाउँछ—प्रेम केवल गम्भीर वाचा र कर्तव्यमा होइन, मुस्कान र आपसी ठट्टा पनि बाँच्दछ । दाम्पत्यलाई दीर्घजीवी बनाउने सूत्र यही हो—सम्मानसहित जिस्किनु, माया मिसिएको संवाद र मन खोल्ने मित्रता । जहाँ पति–पत्नी एक–अर्कालाई हँसाउन सक्छन्, त्यहाँ आँसु आफैं सुक्दै जान्छ । भौतिक जीवनका उतारचढावहरू सजिलैसंग पार गर्ने, पूरा गर्ने र सम्भार गर्ने आत्मबल प्राप्त हुन्छ ।