निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल


काठमाडौं । गृहमन्त्री तथा नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

निर्वाचन तयारीको सिलसिलामा बुधबार काठमाडौँको निर्वाचन क्षेत्र नं–३, गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजल क्षेत्रका विभिन्न मतदान केन्द्र तथा निर्वाचन अधिकृतको कार्यालयको स्थलगत निरीक्षण गर्दै उनले सुरक्षा व्यवस्था र आवश्यक तयारीबारे जानकारी लिएका थिए ।

निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा आउन सक्ने गलत र मिथ्या सूचना तथा दुष्प्रचारबाट सचेत रहँदै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्बद्ध अधिकारीलाई निर्देशन दिए । गृह सचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसहितको टोलीले गोकर्णेश्वर र ओख्रेनी माविमा रहेका मतदान केन्द्रको अवलोकन गरेको थियो ।

सो अवसरमा निर्वाचन अधिकृतहरूले जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा र निर्वाचन सामग्री ढुवानीलगायतका तयारी चुस्त रूपमा अघि बढिरहेको जानकारी गराएका थिए ।