एमाले अध्यक्ष ओलीले ल्याए चुनावी क्षेत्रका लागि यस्तो प्रतिवद्धतापत्र


दमक । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उम्मेदवारी रहेको झापा क्षेत्र नंं ५ लाई केन्द्रित ४२ बुदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ । मंगलबार अध्यक्ष ओलीले प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

प्रतिवद्धतापत्रमा मुख्य चार क्षेत्र छनौट गरिएको छ । जसमा सुशासनको क्षेत्र, भ्रष्टाचार नियन्त्रण, राष्ट्र, राष्ट्रियताको सवाल र पूर्वाधाल लगायतका क्षेत्रको विषय समेटिएको छ । ओलीको प्रतिवद्धता पत्रमा केही राजनीतिक विषयहरुमा प्रष्ट पारिएको छ ।

जसमा उल्लेख गरिएको छ, ‘नेकपा(एमाले) नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार हो । २००६ साल वैशाख १० गते स्थापना भई यस पार्टीले ७६ वसन्त पार गरेको छ। स्थापनाकालदेखि हालसम्म यस पार्टीले अनेकौं हन्डर ठक्कर खाँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापर्ने दक्षिणपन्थी अवसरबाद र उग्रवामपन्थी भड्कावलाई परास्त गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई अझ सशक्त बनाउँदै अगाडि बढाउँदै छौं । नेकपा (एमाले)ले नेपालमा पहिलोपटक कम्युनिस्ट सरकार गठन गरी २०५१/२०५२ सालमा लोकप्रिय कामको थालनी गरेको कुरा सबैमा जगजाहेर छ । आज मुलुक त्यही जगलाई टेकेर अगाडि बढिरहेको छ ।’

प्रतिवद्धतामा आर्थिक वर्ष ०८२/०८३ मा विनियोजित भई हाल रोकिएका र अधुरा रहेका सबै विकास निर्माणका कामहरू पूरा गर्न सशक्त पहलकदमी गरिने, भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी जनतालाई जग्गाधनी प्रमाण–पूर्जा उपलब्ध गराउने कार्यलाई तीव्रता दिइने, जनता आवास र विपन्न आवास निर्माणका कार्यक्रमलाई निरन्तरता दिइने, आदिबासी, जनजाति, दलित, सन्थाल, मुस्लिमलगायतका पछाडि पारिएका सबै समुदायका नागरिकको जीवनस्तर उकास्ने किसिमका कार्यक्रम ल्याउने उल्लेख छ ।

यसैगरी स्वास्थ्य बीमा सेवालाई थप वृद्धि गर्दै अझै व्यवस्थित गर्ने, स्तरोन्नति भइसकेका सबै ग्राभेल सडकहरूलाई क्रमशः कालोपत्रे गर्ने, अधुरो रहेका सबै सामुदायिक भवनहरूलाई क्रमिक रूपमा निर्माण कार्य सम्पन्न गर्ने, आवश्यक स्थानहरूमा अन्न, फलफूल भण्डारणका लागि शीतभण्डार निर्माण गर्ने, प्रत्येक पालिकामा एकएक सुविधा सम्पन्न खेलमैदान निर्माण र क्रमशः वडा स्तरसम्म खेलमैदानलाई विस्तार गर्ने प्रतिवद्धता जनाइएको छ ।

सबै सामुदायिक क्याम्पस र विद्यालयहरूलाई भौतिक र शैक्षिक रूपमा सक्षम बनाउने, कृषिमा सिँचाईको सुविधालाई भूमिगत र सतही सिंचाईका माध्यमबाट व्यवस्थापन गर्ने, कृषिलाई आधुनिकीकरण गर्दै यान्त्रिकीकरणतर्फ उन्मुख गराई बजारीकरण गर्न पहल गर्ने, यस क्षेत्रका जनताको कृषि कर्मलाई मध्यनजर गरी आवश्यकताअनुसार जैविक मल कारखाना स्थापना गर्न पहल गर्ने, समग्र कृषि क्षेत्रको विकास गरी खाद्यन्नमा आत्मनिर्भर बनाउने, सबै किसिमका अव्यवस्थित बजारहरूलाई व्यवस्थित गराउने उल्लेख छ ।

यस्तै दमक र गौरादह बजारलाई आधुनिकीकरण गर्दै गौरीगञ्ज बजारमा थालनी गरिएको स्मार्ट सिटीको कार्यक्रमलाई यथाशीघ्र कार्यान्वयन गराउने, यस क्षेत्रमा रहेका अन्य बजारहरूलाई पनि व्यवस्थित बजारको रूपमा विकास गर्दै जाने, रतुवा, मावा, कमल खोलाको तटबन्धन कार्य पूरा गरी किस्नी, वाइसी, गेरिया, भुत्लुङ, केखां खोला, रामचन्द्रे, घान्दुलगायतका खोलाहरूमा आवश्यक तटबन्धन गर्ने, दमक चिसापानी रवि सडक पुनः ठेक्का लगाई निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाइने प्रतिवद्धता जनाइएको छ ।

यसैगरी दमक ३ को महेश चोकदेखि उर्लाबारी जोहने मावा खोलामा पक्की पुल निर्माण गर्न पहल गर्ने, दमक ३ स्थित बिजिनेस टावरलाई सञ्चालनमा ल्याउने र आसपासको जग्गा ल्यान्डपुलिङ गर्न पहल गर्ने, दमकमा रहेका विज्ञान पार्क, इन्द्रेणी ताल, पशुपति सिमसार क्षेत्र र लानेको बाँधलाई विकास गरी पर्यटकीय क्षेत्र बनाउने, नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण कार्य सम्पन्न गर्ने, दमक ३ मा प्रस्ताव गरिएको मदन भण्डारी रङ्गशाला निर्माणमा पहल गर्ने विषयलाई पनि प्रतिवद्धता पत्रमा समेटिएको छ ।

एमालेले कमल ५ स्थित आदिवासी रङ्गशालालाई आधुनिक स्तरको रङ्गशालाको रूपमा निर्माण कार्य सम्पन्न गर्न पहल गर्ने, दमक, कमल र गौरादह नगर अस्पताल साथै गौरीगञ्ज अस्पतालको स्तरवृद्धि गर्ने, पाडाजुँगी–गौरीगञ्ज–आल्टाबारी सडक चौडा गर्दै स्तरोन्नति गर्ने, हुलाकी मार्गअन्तर्गत माई नदी पुलको अधुरो काम पूरा गर्ने, विराट बुद्धपार्कको काम पूरा गर्न पहल गर्ने, खानेपानी आयोजनाका सबै अधुरा निर्माण कार्य सम्पन्न गर्ने, प्रत्येक घरपरिवारलाई स्वच्छ खानेपानी प्रबन्धका लागि पहल गर्ने प्रतिवद्धता जनाएको छ ।

निर्माण सम्पन्न भएको दमक सभाहल सञ्चालनमा ल्याउने, कमल स्थित प्रादेशिक आयुर्वेदिक अस्पताललाई सुविधा सम्पन्न शिक्षण अस्पतालको रूपमा स्तरवृद्धि गर्ने, कमल स्थित साधु होलीलाई नमुना सिमसारको रूपमा र बाल्मीकि आश्रमलाई सांस्कृतिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने, स्तुवामाई वृक्षारोपण आयोजनाअन्तर्गतको वन क्षेत्रमा आम्दानीमूलक फलफूलका बिरुवा लगाई यो क्षेत्रलाई फलफूलमा आत्मनिर्भर बनाउने, गौरादह ६ तेलियाडाँगीबाट सिजुवा बजार जोड्ने रतुवा खोलामा पक्की पुल निर्माण गर्न पहल गर्ने, गौरादह ५ चप्रामारीदेखि मोरङको कुनामारी जोड्ने रतुवा खोलामा पक्की पुल निर्माण गर्न पहल गर्ने प्रतिवद्धता एमालेको रहेको छ ।

यसैगरी गौरादह ७ स्थित आदिवासी सङ्ग्रहालयको निर्माण कार्य पूरा गर्ने, गौरादह बजारमा रहेको पोखरीलाई आकर्षक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, यस क्षेत्रका विभिन्न पालिकाहरुमा सम्भाव्यता अध्ययन गरी नमुना खेती विस्तार गर्ने । गौरादहको नमुना खेती व्यवस्थित र आत्मनिर्भर बनाउन पहल गर्ने, गौरीगञ्ज स्थित छोटी भन्सारलाई स्तरवृद्धि गर्ने, गौरीगञ्जमा रहेको चौनी सिमसार, मोजोलोम सामुदायिक का र धोद्रामाटी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, यस क्षेत्रमा भएका विभिन्न धर्म, जाति तथा सम्प्रदायसँग सम्बन्धित धार्मिक अनुष्ठान र प्रतिष्ठानहरूलाई संरक्षण तथा प्रबद्र्धन गरिने नेकपा (एमाले) क्षेत्र नं. ५ को चुनावी प्रतिवद्धता पत्रमा समेटिएको छ ।