मादकपदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ


गण्डकी । मादकपदार्थ सेवन गरी पोखराका विभिन्न स्कुल बस चलाउने पाँच चालकलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा माउण्ट हेवन बोर्डिङ स्कुलको ग१क ३६७४ नं बसका चालक ३३ वर्षीय आनन्द परियार र कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग१क १३८२ नं बसका चालक ३७ वर्षीय गौतम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

यस्तै, बिन्देश्वरी बोर्डिङ स्कुलको ग१क ६२२१ नं बसका चालक ४४ वर्षीय भक्तबहादुर गुरुङ, अञ्जली बोर्डिङ स्कुलको ग१क ६४३ नं बसका चालक ४८ वर्षीय डम्बरबहादुर गुरुङ र एसओएस बोर्डि स्कुलको ग१क ६४३३ नं बसका चालक ४७ वर्षीय पदम विकलाई मादक पदार्थ सेवन गरी बस चलाइरहेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ गरिएकाहरूलाई कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रनाउ बस्नेतले बताए ।