तनहुँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालले अब राति पनि काम गर्ने बताएका छन् । सोमबार तनहुको दमौलीमा भएको सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले अबको १०/१५ वर्षमा मुलुकलाई समुन्नत बनाउन राति पनि काम गर्ने बताएका हुन् ।
उनले भने, ‘विगतमा जेजस्तो कमजोरी देशमा भए त्यसको दोष हामी अरुलाई थोपरेर उम्किन चाहन्नौँ । जे जति राम्रा काम भए त्यसको श्रेयको ठूलो भाग दाबी पनि हामी नै गर्छौं । अनि ‘अब राति पनि काम गर्नेछ नेपाल’ को उद्घोष हामी नै गर्छौं । अबको दशक/डेढ दशकमा मुलुक समुन्नत बनाउने संकल्प र सपनालाई हामी पूरा गर्नेछौँ ।’
उनले पूँजीगत बजेट बितेको ६ महिनामा १६ प्रतिशत भन्दा कम हुनु दुःखद अध्याय भएको भन्दै यस्तो स्थितिको अन्त्य गर्न कांग्रेसले आवश्यक कानूनी व्यवस्था, संरचनागत सुधार र तीन सिफ्टमा काम गर्ने पद्धति र संस्कृतिको विकास गर्ने पनि बताए ।
उपसभापति शर्माले भने, ‘धनी देश बेलायतले राति पनि पुल र बाटो बनाउने काम गर्छ, गरिब देश नेपाल सूर्य अस्त नेपाल मस्त किन ? २४ घण्टामा ३ वटा ८ घण्टा हुन्छन्, अब हामीले भौतिक पूर्वाधार निर्माणको काम तीनवटै ८ घण्टाको उपयोग गरेर अघि बढाउनुपर्छ ।’

प्रतिक्रिया