प्रलोपाको महत्वाकांक्षी प्रतिवद्धतापत्रः बंगलादेश जोड्ने सुरुङमार्ग निर्माणदेखि सगरमाथा आधार शिविरसम्म केबलकार निर्माण


काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

आइतबार प्रलोपाले ‘सुदृढ लोकतन्त्र, समृद्ध समाज र स्वाधीन राष्ट्र’ भन्ने मूल नारासहित प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । प्रतिवद्धतापत्रमा पार्टीले मुलुकको शासकीय स्वरूपमा आमूल परिवर्तनको प्रस्ताव अघि सारेको छ ।

विशेषगरी देशमा विद्यमान राजनीतिक अस्थिरता अन्त्यका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई पार्टीले आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाएको छ । प्रलोपाले पुराना राजनीतिक दलहरूको असफलता र नेतृत्वको भ्रष्टीकरणले देश संकटमा परेको निष्कर्ष निकाल्दै आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरेको छ ।

घोषणापत्रमा हालको संसदीय व्यवस्थाले केवल सरकार परिवर्तनको खेल मात्र बढाएको भन्दै राजनीतिक स्थायित्वका लागि शासकीय स्वरूप फेर्नु अनिवार्य रहेको उल्लेख गरिएको छ । उसले सांसदको भूमिकालाई केवल विधायकी कानुन कार्यमा मात्र सीमित राख्ने र मन्त्रीमण्डल स्वतन्त्र विज्ञहरूबाट गठन गरिने परिपाटी बसाल्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिबद्धतापत्रमा द्रुत आर्थिक विकासका लागि रणनीतिक पूर्वधारको गुणस्तरीय विकास गर्ने लक्ष्य राखिएको छ। पूर्व–पश्चिम रेलमार्ग, चीनको केरुङबाट काठमाडौँ हुँदै भारतको रक्सौल जोड्ने रेलमार्ग निर्माण गर्न विशेष ध्यान दिइने उल्लेख छ । निर्माणाधीन र नयाँ गरी पूर्व–पश्चिम र उत्तर–दक्षिण लोकमार्ग र काठमाडौँ बाहिरी चक्रपथको द्रुत गतिमा निर्माण गरिने जनाइएको छ । यससँगै प्रलोपाले सगरमाथा आधारशिविरसम्म केबलकार बनाउने योजना पनि अघि सारेको छ ।

प्रलोपाले बंगलादेश जोड्ने सुरुङमार्ग वा रेलमार्ग निर्माणका लागि पहल गर्ने पनि प्रतिबद्धता जनाएको छ। प्रतिवद्धतापत्रमा भनिएको छ,‘नेपाल–बंगलादेश आवागमन सहज बनाउन भारतको १३ किलोमिटर भूभागमा सुरुङमार्ग वा स्थलगत रेलमार्ग निर्माणका लागि कूटनीतिक पहल गरिनेछ ।’