काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
शनिबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । राप्रपाले घोषणापत्रमा अबको गन्तव्यको रुपमा ‘सबल, समृद्ध र सम्मुनत नेपाल–पृथ्वी पथ’ लाई राखेको छ । त्यस्तै राप्रपाले अभिभावकीय संस्थाको रुपमा राजसंस्था हुनुपर्ने घोषणा गरेको छ ।
राप्रपाले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था मिलाउने सङ्कल्प गरेको छ ।
घोषणापत्रमा भ्रष्टाचार सम्बन्धी सूचना दिनेलाई संरक्षण तथा प्रोत्साहन गर्न सूचक संरक्षण ऐन बनाई लागु गरिने उल्लेख छ ।
नीतिगत तथा कार्यगत क्षेत्रमा देखिएका भ्रष्टाचार तथा अनाचार अन्त्य गर्न सार्वजनिक पद धारण गर्ने पदाधिकारीलाई कानुनी दायरामा ल्याउन स्वार्थको द्वन्द्वसम्बन्धी कानुन जारी गरिने, अन्तर्राष्ट्रिय आर्थिक मान्यता एवम् देशको परिस्थिति र आवश्यकतालाई दृष्टिगत गर्दै विद्यमान सम्पत्ति शुद्धीकरण ऐनमा सुधार ल्याइने, राजनैतिक हस्तक्षेपमुक्त संवैधानिक नियुक्तिको व्यवस्था गरिने उल्लेख छ।
यसैगरी राप्रपाले राष्ट्रिय स्वतन्त्रता, अखण्डता, एकता, सार्वभौमिकता, प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण र संवर्धनको निमित्त राष्ट्रिय सुरक्षा मूलनीति बनाइने संकल्प गरेको छ ।
वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र स्थापना गर्ने लक्ष्य राखेको राप्रपाले सबै धर्मबिच समानता र सबै धर्मलाई बराबरीको स्वतन्त्रता प्रदान गरिने उल्लेख गरेको छ ।
त्यस्तै, राप्रपाले जातीय भेदभाव र छुवाछुतलगायत धर्मको आधारमा कुनै पनि प्रकारको भेदभावलाई दण्डनीय बनाइने प्रतिबद्धता जनाएको छ।
राप्रपाले अभिभावकीय संस्थाको रुपमा राजसंस्था, वर्तमान खर्चिलो र अस्थिर निर्वाचन प्रणालीमा व्यापक परिवर्तन र सुधार, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र र गैरदलीय स्थानीय तहको माग गरेको छ ।

प्रतिक्रिया