धरान । धरानमा गत माघ २२ गतेदेखि जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २६औँ संस्करण उपाधिका लागि शनिबार प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ ।
फाइनल खेलअघि शुक्रबार धरान रङ्गशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तान तथा प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन् । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टोली सशक्त रहेकाले उपाधि जित्ने विश्वास व्यक्त गरे ।
प्लानिङ ब्वाइजका प्रशिक्षक सन्दीत सिंहले बुढासुब्बा गोल्डकपमा पहिलो पटक सहभागिता जनाए पनि ऐतिहासिक जित हासिल गर्ने लक्ष्यका साथ टोली फाइनलमा उत्रिने बताए।
गत वर्षको संस्करणमा चर्च ब्वाइज उपविजेता बनेको थियो भने प्लानिङ ब्वाइजले यस प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको हो ।
प्रतियोगिताका विजेताले नगद १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।
त्यसैगरी खेलको ‘म्यान अफ दी म्याच’ लाई १० हजार प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार र सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया