काठमाडौँ । बुधबार राष्ट्रियसभा बैठकमा चलचित्र विधेयक पारित गर्ने कार्यसूची थियो । त्यसक्रममा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीकातर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले ‘चलचित्र विधेयक, २०८१’ पारित गर्ने प्रस्ताव प्रस्तुत गरिन् ।
विधेयक प्रस्तुत गरेपछि सभाका केही सदस्यले मन्त्रीलाई प्रश्न सोधे । तर जवाफ दिनेक्रममा मन्त्री श्रेष्ठ अक्कनबक्क भइन् । त्यो दृष्यले उनको सामाजिक संजालमा आलोचना भइरहेको छ । आफूलाई सामाजिक संजालमा ट्रोल बनाइएकापछि उनले त्यसको जवाफ सामाजिक संजालमार्फत नै दिएकी छन् ।
यस्तो छ मन्त्री श्रेष्ठको जवाफः
नमस्कार!
सन्दर्भः हिजो राष्ट्रिय सभामा भएको मेरो प्रस्तुतीकरण सम्बन्धमा।
सामाजिक सञ्जालमा मेरो भूमिकालाई लिएर ट्रोल र नकारात्मक टिप्पणीहरू भइरहेको मैले देखेँ । सभाको कार्यविधि तथा प्रोटोकल पालना सम्बन्धमा केही अन्योल भएको हुनसक्छ, र त्यसबाट सिक्ने तथा आत्ममूल्याङ्कन गर्ने ठाउँ अवश्य पनि छ भन्ने कुरा म खुला रूपमा स्वीकार गर्छु ।
तर सदनमा विषयको clarity मागेको कारण मलाई ‘Incompetent Gen Z मन्त्री’ भनेर व्यंग्य गर्नु सान्दर्भिक होइन । हो, म जेनजी मन्त्री हुँ — र सायद यही कारणले होला म आफ्ना सहकर्मी वा सम्बन्धित निकायसँग स्पष्ट र यथार्थ जानकारी माग्न हिच्किचाउँदिन । सही जानकारी माग्नु कमजोरी होइन, जिम्मेवारी हो। मलाई त्यसमा कुनै लाज छैन । मैले चाहेको भए सामान्य वा लटरपटर जवाफ दिएर अघि बढ्न सक्थेँ । तर म सही, तथ्यमा आधारित र जिम्मेवार उत्तर दिने पक्षमा विश्वास गर्छु।
सन्दर्भका लागि भन्नुपर्दा, उक्त कार्यसूची अर्को मन्त्रालयसँग सम्बन्धित थियो । मलाई सदनमा विधेयक प्रस्ताव गर्ने जिम्मेवारी मात्र दिइएको थियो, विषयवस्तुको विस्तृत जानकारी र सवाल जवाफको बारेमा भने मलाई सम्बन्धित निकायले केही भनेको थिएन।
त्यसैले, माननीय सदस्यको प्रश्नको जवाफ दिनुअघि सम्बन्धित मन्त्रालयको टोलीसँग जानकारी माग्नु मैले उचित ठानेँ । यसलाई किन ठूलो विषय बनाइनु पर्छ ? पारदर्शिता र सही सूचना आजको आवश्यकता हो।
यदि स्पष्टता रोज्नुले मलाई केहीको नजरमा अनुभवहीन वा अयोग्य देखाउँछ भने, त्यो पनि स्वीकार्य छ । खुट्टा तान्ने र नकारात्मकमा रमाउनेलाई बधाई र शुभकामना ।
हेर्नुस् भिडियो मन्त्री श्रेष्ठले बैठकमा दिएको जवाफ

प्रतिक्रिया