‘चुनावको नतिजाले नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदानको रुपमा परिणत गर्छ’


काठमाडौँ । नेपाल राष्ट्रिय राजनीतिक गुरुकुल र स्वदेशी अभियानले विदेशीको एजेण्डामा निर्माण गरिने आगामी सरकार नेपाली जनताको हितमा नहुने भन्दै आगामी सरकारलाई स्वीकार नगर्ने बताएको छ ।

गुरुकुलका संयोजक सौरभ र स्वदेशी अभियानका संयोजक सूर्य माखिमले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी गत भदौ २४ गतेको हत्या–हिंसा र आगजनीमा संलग्न योजनाकारहरुलाई कानुनी दायरामा नल्याई गरिने चुनाव धोखा भएको ठहर गरेका हुन् ।

उनीहरुले. २०७२ को संविधान मरिसकेको, तेस्रो संविधानभाको निम्ति हुने चुनाव आजको आवश्यकता भएको, पूर्वप्रधानन्यायधिशलाई वर्तमान संविधानले नचिने भएकाले उसको नेतृत्वमा भएको निर्वाचन नै अवैध हुने बताएका छन् ।

यस्तो छ विज्ञप्ति

सम्पादकज्यूहरु, यहाँहरुलाई स्वागत गर्न चाहन्छौं । हाम्रो छोटो समयको निम्तोलाई स्वीकार गरेर आउनु भएकोमा यहाँहरुप्रति आभार पनि व्यक्त गर्न चाहन्छौं । अहिलेको अप्ठ्यारो अवस्थाको नेपाली राजनीतिको सन्दर्भमा नेपाल राष्ट्रिय राजनीतिक गुरुकुल र स्वदेशवादी अभियानका केही जरुरी दृष्टिकोणहरुका बारेमा संवाद गर्न आवश्यक ठानेर हामीले सम्पादकहरुसँग संवादको आयोजना गरेका छौं । हाम्रो आधारभूत निम्न दृष्टिकोणहरु रहेका छन् ।

१. विदेशीको एजेण्डामा निर्माण गरिने आगामी सरकार नेपाली जनताको हितमा नभएको ठहर गर्दै हामी आगामी सरकारलाई स्वीकार गर्दैनौं ।

२. गत भदौ २४ गतेको हत्या–हिंसा र आगजनीमा संलग्न योजनाकारहरुलाई कानुनी दायरामा नल्याई गरिने चुनाव धोखा भएको हाम्रो ठहर हो ।

३. २०७२ को संविधान मरिसक्यो, तेस्रो संविधानभाको निम्ति हुने चुनाव आजको आवश्यकता हो ।

४. पूर्वप्रधानन्यायधिशलाई वर्तमान संविधानले चिन्दैन, उसको नेतृत्वमा भएको निर्वाचन नै अवैध हो ।

५. चुनावको नतिजाले नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदानको रुपमा परिणत भए हामी परिस्थिति सम्हाल्न सक्ने अवस्थामा रहने छैनौं ।

६. यो सरकार सत्ता अपहरणकारीको हो, यसले चुनाव गराउने अधिकार राख्दैन ।

७. सर्वपक्षीय स्वदेशवादी नागरिक सरकार गठन गरी न्यायपूर्ण निष्पक्ष चुनाव गराओस् । धन्यवाद ।

सौरभ, राष्ट्रिय संयोजक, नेपाल राष्ट्रिय राजनीतिक गुरुकुल


सूर्य माखिम संयोजक, स्वदेशवादी अभियान