काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रणय शमशेर राणाले पार्टी छाडेका छन् । बिहीबार महामन्त्रीलाई सम्बोधन गर्दै पत्र लेखेर उनले पार्टी सदस्यताबाट राजीनामा दिएका हुन् ।
उनले भनेका छन्, ‘मेरो राजीनामाको निर्णयबाट प्रभावित हुने स्वदेश र विदेशमा रहनुभएका संगठन एवं शुभेच्छुक साथीहरू समक्ष क्षमायाचना गर्न चाहन्छु । राजनीतिमा कहिले पनि सामान्य परिस्थिति हुँदैनन्। त्यसैले नै सबै भैपरि आउन सक्ने परिस्थितिहरुलाई आकलन गरेर पार्टीले विधान बनाएको हुन्छ। अहिले विशेष परिस्थितिको नाममा बेथिति संस्थागत गर्दै गर्दा भोलि यही कुरा सरुवा, बढुवा, नियुक्तिमा हुँदैन भनेर आमनागरिकले कसरी विश्वास गर्ने ? आफ्नो आन्तरिक अभ्यास सही ढङ्गले नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास म गर्न सक्दिन र अन्धभक्ति गर्न पनि चाहन्न !’
उनी प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले गरेको ‘प्राइमरी इलेक्सन’ प्रति असन्तुष्ट थिए । राणाले ‘प्राइमरी इलेक्सनका नाममा २५ हजार रुपैयाँ उठाएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए ।
पत्रमा उनले भनेका छन्, ‘प्राइमरी चुनावमा सधैं ५०% चलखेलको बाटो राखियो । अहिले आएर विशेष परिस्थितिको नाममा संगठनको आफ्नो नेतृत्व छान्ने अधिकार पनि लुटियो। १,००० सदस्यता शुल्कबाट ३०० पालिकामा आउने भनेको कहिले आएन, प्राइमरीका प्रक्रिया मात्र नभई त्यसका लागि भनी उठाइएको ठूलो रकममा पनि आर्थिक अपारदर्शिता/अपचलन देखियो। पार्टी स्थापना कालमा गरिएको वाचा ‘बेथितिको अन्त्य– थितिको थालनी’ ठिक उल्टो भएर ‘थितिको अन्त्य – बेथितिको थालनी’ हुन पुगेको छ । केन्द्रमा बसेका पदाधिकारी तथा केन्द्रीय सदस्य अधिकांश यो बेथितिको साझेदार छन् भने अन्य अजिबो गरिब तवरले मौन छन् । सीमित केही बोल्ने साथीहरूको हविगत आम नेपालीलाई थाहा भइसकेको छ। सुशासन, जवाफदेहिता, आर्थिक पारदर्शिता अब पार्टीको नारामा मात्रै सीमित रहेको छ– अभ्यासमा फिटिक्कै छैन ।’


प्रतिक्रिया