ब्रिटिश कोलम्बिया गोलीकाण्डमा १८ वर्षीय जेसी भान रुट्सेलार मुख्य संदिग्ध


बीबीसी । क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तको टम्बलर रिजमा भएको गोलीकाण्डमा १८ वर्षीय जेसी भान रुट्सेलारलाई मुख्य संदिग्धका रूपमा पहिचान गरिएको छ। उक्त घटनामा आठ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

प्रहरीका अनुसार भान रुट्सेलार घटनास्थलमै आत्मघाती गोली प्रहारबाट मृत फेला परेका थिए। आक्रमणको उद्देश्य हालसम्म खुल्न सकेको छैन ।

टम्बलर रिज सेकेन्डरी स्कूलमा भएको गोलीकाण्डमा ६ जनाको ज्यान गएको र कम्तीमा २५ जना घाइते भएका छन्। साथै, नजिकैको एक घरमा संदिग्धकी ३९ वर्षीया आमा र ११ वर्षीय सौतेनी भाइ मृत फेला परेका छन् ।

अधिकारीहरूका अनुसार भान रुट्सेलार जैविक रूपमा पुरुषका रूपमा जन्मिएका भए पनि आफूलाई महिला भनेर चिनाउने गर्थे। रोयल क्यानेडियन माउन्टेड पुलिसका उप–आयुक्त ड्वेन म्याकडोनाल्डले करिब छ वर्षअघि उनले महिलामा रूपान्तरण प्रक्रिया सुरु गरेको बताए ।

म्याकडोनाल्डका अनुसार पहिले नजिकैको घरमा गोलीकाण्ड भएको थियो र त्यसपछि संदिग्ध विद्यालयतर्फ गएका थिए।

विद्यालयमा मृत्यु हुनेहरूमा ३९ वर्षीया महिला शिक्षक, १२–१२ वर्ष उमेरका तीन जना छात्रा तथा १२ र १३ वर्षका दुई जना छात्र रहेका छन्।

प्रहरीले घटनामा अन्य कुनै व्यक्ति संलग्न रहेको नठानेको जनाएको छ। साथै, पछिल्ला केही वर्षयता संदिग्धको घरमा मानसिक स्वास्थ्यसम्बन्धी चिन्ताका कारण पटक–पटक प्रहरी पुगेको जानकारी दिएको छ।

भान रुट्सेलारसँग पहिले वैध हतियार लाइसेन्स रहेको तर पछि म्याद सकिएको, साथै उनले चार वर्षअघि टम्बलर रिज सेकेन्डरी स्कूल छाडेको प्रहरीले जनाएको छ।