वीरगंज । वीरगंज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणमा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
सोमबार आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रुपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेर अवैध रुपमा भण्डार गरी राखेको ७ लाख मूल्य बढीको कपडा बरामद गरेको छ ।
कपडा बरामदपछि तस्कर समूह आक्रमणमा उत्रिएको थियो । तस्कर समूहको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको छ भने ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् । बरामद सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया