काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र संयूक्त अधिराज्यले विकास, मानव कल्याण र शान्तिसँग सम्बन्ध राख्ने विषयहरूमा सहकार्य गर्दै आएको र दुवै राष्ट्रहरूले राष्ट्रसंघीय शान्तिसेना मार्फत् विश्वशान्ति स्थापनाबारे समान धारणा राखिरहेको उल्लेख गरे ।
उनले नेपाल र संयुक्त अधिराज्यबिच सदियौँदेखि घनिष्ठ सम्बन्ध रही आएको उल्लेख गर्दै एक महत्वपूर्ण विकास साझेदारसमेत रहेको संयुक्त अधिराज्यले नेपालको विकासमा निरन्तर पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे ।
उनले ब्रिटिस गोर्खाले आफ्नो प्रशंसनीय कार्यहरूको माध्यमबाट नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध थप मजबूत बनाएकोमा खुसी व्यक्त गर्दै संयुक्त अधिराज्यमा नेपालीहरूको उपस्थितिले दुई देशबीच रहिआएको जनस्तरको सम्बन्ध थप सुदृढीकरण आफूहरूको ठम्याई रहेको पनि उल्लेख गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
उनले पूर्व ब्रिटिश गोर्खाका केही जायज गुनासाहरू सम्बोधन गर्न कूटनीतिक तहमा छलफल भइरहेको र यो विषय द्विपक्षीय संयन्त्रको माध्यमबाट छिट्टै टुंगोमा पुर्याउन उचित हुने आफूलाई लागेको बताए ।
राष्ट्रपतिले गोर्खा विग्रेडको सन् २०२५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकोमा संयुक्त अधिराज्य सरकारलाई धन्यवाद व्यक्त गर्दै प्रतिवेदनउपर सम्बन्धित निकायहरूले आवश्यक अध्ययन गर्ने बताए ।
सो अवसरमा बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डले ब्रिटिश गोर्खा सेना सँधै अग्रपंक्तिमा रहेको बताउँदै प्रशंसा गरे ।
ब्रिटिश गोर्खामा भर्ना भएका युवाहरूलाई तपाईँहरू नेपालका छोरा, छोरी हो भनेर आफूले सम्झाउने गरेको बताउँदै बेलायती जनताले गोर्खा नेपालीहरूप्रति मायाँ र सम्मान प्रकट गर्नेगरेको उल्लेख गरे । सो अवसरमा नेपालस्थित बेलायती राजदूत रव फेनको पनि उपस्थिति थियो ।

प्रतिक्रिया