देश आत्मनिरर्भर बन्ने र नेपाली जनताले पनि निःशुल्क रुपमा विद्युत बाल्न सक्ने अवस्था बनाउन सकिन्छः अध्यक्ष घिसिङ


सप्तरी । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समृद्ध नेपाल बनाउनका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्ने बताएका छन् ।

शुक्रबार राजविराजमा उज्यालो नेपाल पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आर्थिक समृद्धिका लागि विद्युत्मा आत्मनिर्भर र कृषि क्षेत्रको विकास गर्न जरुरी रहेको बताए । ऊर्जा क्षेत्रमा आफूले अघि सारेका पहल र सुधारहरूले नेपालका लागि कार्यान्वयनयोग्य नमुना प्रस्तुत गरेको घिसिङको भनाइ थियो ।

उनले आफ्नो अनुभवलाई मुलुकको समग्र आर्थिक रूपान्तरणमा उपयोग गर्न सकिने उल्लेख गर्दै १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गरेर विद्युत्बाट आम्दानी गर्न सकिने बताए ।

‘देश आत्मनिरर्भर बन्ने र नेपाली जनताले पनि निःशुल्क रुपमा विद्युत बाल्न सक्ने अवस्था बनाउन सकिन्छ । कृषि, खानेपानी, रोजगारी तथा ऊर्जा जस्ता आधारभूत क्षेत्रमा आत्मनिर्भरता हासिल नगरी दिगो विकास सम्भव हुँदैन, यसमा हाम्रो पार्टी प्रष्ट छ,’ अध्यक्ष घिसिङले भने ।

जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको उल्लेख गर्दै उनले सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।