भारतको मेघालयस्थित कोइलाखानीमा विस्फोट हुँदा दुई नेपालीसहित १८ जनाको मृत्यु


खोटाङ । भारतको मेघालयस्थित एक कोइलाखानीमा भएको विस्फोटमा खोटाङ बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ ।

मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा बराहपोखरी गाउँपालिका-१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको मृत्यु भएको हो ।

बराहपोखरीस्थित सालघारीभञ्ज्याङका खड्गबहादुर खपाङ्गी मगर र टंककुमारी खपाङ्गी मगरका छोरा पूर्णबहादुर दाजु र सुरेन्द्र भाइ भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए । सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन् ।

मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सातजनाको टोलीमध्ये बराहपोखरीस्थित वालम्पाका ताराबल मगरमात्र सकुशल रहेको जनाइएको छ । विस्फोटपछि ताराबलले नै फोनमार्फत घटनाका बारेमा जानकारी गराए ।

दुर्घटनाका घाइते चारजनाको अवस्था गम्भीर रहेको ताराबलले जानकारी दिए ।

‘दुर्घटनामा पूर्णबहादुर र सुरेन्द्रको मृत्यु भएपछि उनीहरूको शव पर्खेर बसेको छु । यहाँ कोही चिनेजानेका मानिस छैनन् । चिनेजानेका मानिस कोही नहुँदा समस्यामा छु । घाइतेहरूलाई उद्धार गरेर अस्पताल लगेको छ । उनीहरूको पनि अवस्था चिन्ताजनक छ । यसप्रति सम्बन्धित निकायको ध्यान जाओस्’, उनले भने ।

दुर्घटनाका मृतक तथा घाइतेहरू रोजगारीका लागि गत पुस ३ गते घरबाट मेघालय गएको छिमेकी श्रेष्ठले जानकारी दिए । मृतक मगर दाजुभाइमध्ये पूर्णबहादुर विवाहित र सुरेन्द्र अविवाहित रहेको स्थानीयले बताएका छन् ।

रोजगारीको सिलसिलामा मेघालय पुगेका आफन्तको डेढ महिना नपुग्दै दुर्घटनामा परेर मृत्यु भएपछि परिवारका सदस्य चिन्तित बनेका छन् । खोटाङका विभिन्न ठाउँका स्थानीय युवा हिउँदको समयमा काम खोज्दै मेघालय जाने गरेका छन् ।

भरतीय सञ्चार माध्यमका अनुसार सो विष्फोटका घटनामा परेर ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । उम्साङघाटमा सञ्चालित कोइलाखानीमा भएको घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जनाइएको छ ।

मेघालयस्थित कोइलाखानीमा भएको घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै ज्यान गुमाउनेको परिवारलाई २ लाखका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् । घाइतेहरूलाई ५० हजारका दरले उपचार खर्च दिने पनि प्रधानमन्त्री मोदीले बताएका छन् ।