सरकार मतपरिणाम नै बदल्ने योजनामा लागेको महेश बस्नेतको आरोप


काठमाडौँ । नेकपा एमालेका सचिव तथा भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेश बस्नेतले वर्तमान सरकार रास्वपा पक्षधर बनेर लोकतन्त्रवादी शक्तिमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौँ उपत्यकाका उम्मेदवारसँगको संवाद कार्यक्रममा उनले निर्वाचनलाई निष्पक्ष बनाउनुपर्नेमा जोड दिँदै सरकार मतपरिणाम नै बदल्ने योजनामा लागेको आरोप लगाएका हुन् ।

निर्वाचन दुई चरणमा गर्ने चर्चा चलाएर मतपरिणाम परिवर्तन गर्ने प्रयास भइरहेको उनको भनाइ थियो । उनले संसद पुनः स्थापनाका बिषयमा अदालतले छिटो न्यायनिरुपण गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘न्यायिक प्रक्रियामा आतंकित भएर, प्रभोभनमा परेर, राष्ट्रिय/अन्तर्राष्ट्रय शक्तिहरू सामु डराएर ढिला गर्ने वा न्याय नदिने प्रवृत्ति देखिएको छ । त्यसभित्र संसद पुनःस्थापनाको न्यायिक निरुपणको विषय अल्झिएको छ । संसद पुनःस्थापनको प्रक्रियामा सर्वोच्च अदालत भाग्न पाउँदैन । निरुपण तत्कालै गर्नुपर्छ ।’

त्यस्तै एमाले सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले संसद पुनःस्थापना लोकतन्त्र र संविधानलाई सहज बाटोमा फर्काउने उपाय भएको बताए ।

उनले मतदातालाई कुनै उत्तेजनामा नआई विवेकपूर्ण भावनाका साथ मतदान गर्न आग्रह गर्दै लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नागरिककै हातमा रहेको बताए ।