सुखद दाम्पत्यको लागि गर्नुपर्ने काम


-डा. गोविन्दशरण उपाध्याय ।

सुखद दाम्पत्य कुनै संयोग होइन, यो निरन्तर अभ्यास, सचेत प्रतिबद्धता र परिपक्व समझदारीको परिणाम हो। नेपाली समाजमा दाम्पत्यलाई अझै पनि सामाजिक बाध्यता र सहनशीलताको रूपमा बुझ्ने प्रवृत्ति बलियो छ। विवाह भएपछि ‘जस्तोसुकै भए पनि निभाउनै पर्छ’ भन्ने धारणा प्रचलित छ। तर निभाउनु र सुखपूर्वक बाँच्नु एउटै कुरा होइन। शास्त्रहरूले पनि सहनशीलता मात्र होइन, सह–आनन्द र सह–यात्राको मार्ग देखाएका छन्।

हिन्दू वैवाहिक संस्कारको केन्द्रीय तत्व सप्तपदी हो। सात पाइला केवल कर्मकाण्ड होइनन्, जीवनका सात आयाममा गरिने साझा प्रतिज्ञा हुन्। त्यसैगरी, पाश्चात्यहरूले केवल सेक्ससुखका रुपमा बुझ्ने कामसूत्रले दाम्पत्यलाई मानवीय सम्बन्धको सूक्ष्म मनोविज्ञानबाट व्याख्या गर्छ भने आधुनिक मनोवैज्ञानिक जन गोटम्यानका अनुसन्धानहरूले हजारौँ दाम्पत्यको अध्ययनबाट सुखी सम्बन्धका वैज्ञानिक सूत्र प्रस्तुत गरेका छन्। यी तीनै धाराको मूल सन्देश एउटै छ—सुखद दाम्पत्य बनाइन्छ, आफैँ हुँदैन।

दाम्पत्यको पहिलो आधार साझा जीवनदृष्टि र उद्देश्य हो। सप्तपदीको पहिलो पाइला अन्न, श्रम र जीवनोपार्जनसँग सम्बन्धित छ। यसको अर्थ केवल आर्थिक सहकार्य होइन, “हामी मिलेर जीवन बनाउँछौँ” भन्ने चेतन प्रतिज्ञा हो। गोटम्यानले यसलाई Shared Meaning System भन्छन्। जहाँ पति–पत्नीको जीवनदृष्टि फरक–फरक दिशामा दौडिरहेको हुन्छ, त्यहाँ सानो समस्या पनि ठूलो द्वन्द्व बन्छ।

दोस्रो अनिवार्य पक्ष भावनात्मक सुरक्षा हो। सप्तपदीको अर्को चरण संरक्षण, सन्तान र भविष्यसँग सम्बन्धित छ। यहाँ “म तिम्रो सुरक्षित आधार हुँ” भन्ने मौन बाचा समावेश हुन्छ। गोटम्यानका अनुसार दाम्पत्य सफल वा असफल हुने मुख्य आधार नै भावनात्मक सुरक्षा हो । आलोचना, तिरस्कार, अपमान र मौनदण्ड (stonewalling) ले सम्बन्धलाई भित्रैबाट खोक्रो बनाउँछ। नेपाली दाम्पत्यमा मौनता धेरै गहिरो चोटको माध्यम बनेको देखिन्छ।

तेस्रो महत्त्वपूर्ण कुरा मित्रता र आपसी सम्मान हो। कामसूत्रले पति–पत्नीलाई केवल यौन साझेदार होइन, जीवनका सहयात्री र मित्रको रूपमा चित्रित गर्छ। सुखी दाम्पत्यमा दुवै एक–अर्काका कुरा सुन्न इच्छुक हुन्छन्, रमाइलो सँगै गर्न सक्छन् र असहमति हुँदा पनि अपमान गर्दैनन्। जन गोटम्यान स्पष्ट भन्छन्—दीर्घकालीन सुखी दाम्पत्यको जग मित्रतापूर्ण सम्बन्ध हो।

चौथो अभ्यास संवेदनशील र करुणापूर्ण आपसी संवाद हो। सप्तपदीको अर्को पाइला सत्यता र बोलीबचनसंग जोडिएको छ। दाम्पत्यमा सत्य बोल्नु आवश्यक छ, तर सत्य करुणासहित हुनुपर्छ। कडा शब्दले सत्य बोलिए पनि सम्बन्ध कमजोर हुन्छ। गोटम्यानको Gentle Start–up सिद्धान्त यही हो—आरोप होइन, अनुभूति व्यक्त गर्ने। ‘तिमी सधैँ यस्तो गर्छौ’ भन्दा ‘म यस अवस्थामा दुःखी महसुस गरिरहेकी छु” भन्न सक्नु नै दाम्पत्य–बुद्धि हो।

पाँचौँ कुरा यौनिक र भावनात्मक सन्तुलन हो। कामसूत्रलाई केवल कामुक ग्रन्थको रूपमा बुझ्नु ठूलो भूल हो। यो वास्तवमा दम्पतिका बीचको सम्बन्धको मनोविज्ञान हो। यौन सम्बन्ध बाध्यता होइन, संवाद हो। इच्छा दबाउनु पनि हिंसा हो, जबर्जस्ती पनि हिंसा हो। गोटम्यानका अनुसार दीर्घकालीन दाम्पत्यमा यौनिकता हराउँदैन, रूपान्तरण हुन्छ—विश्वास, आत्मीयता र सम्मानमा आधारित भएर।

छैटौँ अभ्यास कलह अर्थात् आपसी संघर्षको व्यवस्थापन हो। सप्तपदीले स्वीकार गर्छ—मतभेद अपरिहार्य छन्। गोटम्यानका अनुसन्धानले देखाउँछन्, धेरै वैवाहिक समस्या कहिल्यै पूर्ण रूपमा समाधान हुँदैनन्। प्रश्न समाधान होइन, व्यवस्थापन हो। नेपाली समाजमा समस्या लुकाउने, सहने वा तेस्रो पक्षमार्फत लडाइँ लड्ने प्रवृत्ति छ। तर स्वस्थ दाम्पत्यमा समस्या दुई बिचको हो र समाधानको जिम्मेवारी पनि दुई जनाकै हो ।

सातौँ र सबैभन्दा गहिरो पक्ष आध्यात्मिक र मूल्यगत साझेदारी हो। सप्तपदीको अन्तिम पाइला धर्म, मित्रता र आजीवन सहयात्रासँग सम्बन्धित छ। यहाँ धर्म भनेको कर्मकाण्ड होइन, जीवनमूल्य हो—सत्य, क्षमा, करुणा, धैर्य र प्रतिबद्धता। गोटम्यान यसलाई क्जबचभम ख्बगिभक भन्छन्। साझा मूल्य बिना सम्बन्ध टिक्न सक्छ, तर फुल्न सक्दैन।

सुखद दाम्पत्यका लागि गर्नुपर्ने कामहरू कुनै एकपटकको तालिम वा कार्यक्रम होइनन्। यी दैनिक अभ्यास हुन्—सुन्ने अभ्यास, क्षमा गर्ने अभ्यास, कृतज्ञ हुने अभ्यास, एकअर्काको दुखसुख सोध्ने अभ्यास र समानानुभूतिको अभ्यास । साना शब्दहरू—“धन्यवाद”, “म तिमीलाई बुझ्न चाहन्छु”, “म गलत थिएँ”—यिनैले ठूला सम्बन्ध जोगाउँछन्।

आजको नेपाली समाजमा बढ्दो डिभोर्स, मानसिक तनाव र एक्लोपनको मूल कारण दाम्पत्यभित्रको संवादहीनता, अति महत्वकांक्षा, अतिचाहना र भावनात्मक असुरक्षा हो। शास्त्र र विज्ञान दुवैले एउटै सत्य पुष्टि गर्छन्—दाम्पत्य संस्था होइन, सम्बन्ध हो; नियम होइन, सम्बन्धन हो; सहन होइन, सहयात्रा हो।

सुखद र प्रेमपूर्ण दाम्पत्य भनेको “म” र “तिमी”को युद्ध होइन, “हामी”को साधना हो। सप्तपदी यसको मार्ग हो, कामसूत्र यसको मानवीय कला हो र गोटम्यान यसको वैज्ञानिक पुष्टि हुन्। यी तीनैलाई जीवनमा उतार्न सके दाम्पत्य केवल टिक्ने होइन, सार्थक र आनन्दपूर्ण बन्नेछ।

स्वस्त्यस्तु !