चुनावी तालमेल नहोला भन्न सकिन्न, केही दिनमै कोर्स परिवर्तन पनि हुनसक्छः उपाध्यक्ष गुरुङ


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरु आम रुपमा एक्लाएक्लै प्रतिस्पर्धामा रहेका तर कतिपय स्थानमा तालमेल हुन पनि सक्ने बताएका छन् ।

प्रेस चौतारी नेपालद्वारा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच तालमेलबारे छलफल भएको भन्ने विषयमा पत्रकारहरुले गरेको प्रश्नमा उपाध्यक्ष गुरुङले बाहिर चर्चामा आए जस्तो अहिलेसम्म एमालेले तालमेलबारे कुनै निर्णय नगरेको तर राजनीतिमा छलफल र संवाद तथा सबै सम्भावना हुन सक्ने बताए ।

उनले गत भदौ २३ र २४ गतेको घटनालाई हेर्ने दृष्टिकोण एउटै नभएसम्म नेकपासँग तालमेल नहुने स्पष्ट पारे । उनले केही दिनमै राजनीतिक कोर्स परिवर्तन पनि हुनसक्ने बताए ।

उनले भने, ‘राजनीति भनेको असम्भवबाट सम्भव पनि हुन्छ। २/४ दिनमै कोर्स परिवर्तन पनि हुनसक्छ। हुँदै हुँदैन भनेर ठोकुवा गर्ने विषय होइन।’

उनले जनताले नयाँ अनुहार नभएर नयाँ भिजन खोजेको बताए । उनले नेपाली कांग्रेस नयाँ भयो भनिए पनि त्यस्तो नदेखिएको बताए । उनले भने,‘दोस्रो विशेष महाधिवेशनपछि पनि उहाँहरूको सिद्धान्त, विचार र दर्शनमा कुनै फेरबदल भएको छैन । त्यसैले कांग्रेस यथाअवस्थामै छ ।’

उनले आफूलाई नयाँ र अरूलाई पुराना भनेर आरोप लगाउनेहरु एजेण्डाविहीन रहेका बताए ।