कुलमान, महावीरलाई जेनजीको दबाबमा हात जोडेरै सरकारमा ल्याएँ, चुनाव लड्छौं भन्नुभयो, बिदा गरेँः प्रधानमन्त्री कार्की


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन हुने बताएकी छन् । सोमबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जननिर्वाचित सरकारलाई सत्ता सुम्पन आफू आतुर रहेको बताएकी हुन् ।

उनले आफू रहरले नभई परिस्थितिले जिम्मेवारीमा ल्याएको बताइन् । उनले भनिन्, ‘म कुनै शासकीय आकांक्षा बोकेर पदको लोभमा प्रधानमन्त्री भएको होइन। बिथोलिएको संवैधानिक व्यवस्थालाई ट्र्याकमा ल्याउन र देशलाई सङ्कटबाट बचाउनको लागि विषम परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी लिएको हुँ ।’

उनले जेनजी आन्दोलनमा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गराइएको बताइन् । प्रधानमन्त्रीले कुलमान घिसिङ, महावीर पुनलगायतलाई जेनजीको दबाबमा आफूले हात जोडेरै सरकारमा ल्याएको बताइन् ।

चुनाव लड्ने बताएपछि उहाँहरुलाई आफूले नै बिदाइ गरेको बताइन् । उनले भनिन्, ‘सरकारमै बसेर चुनाव लड्ने भन्ने हुँदैन । चुनावमा जान्छौँ भनेर राजीनामा दिएर जाऊ बिदाइ गरिदिन्छु केही छैन भनेको थिएँ । राजीनामा दिएर जानेहरूसँग अहिले सम्पर्क पनि छैन । खादा ओढाएर बिदा गरेका हौँ, तिनीहरूले मात्रै चिया खाएर काम गरेका छन्, हदै भएको भए मन्त्रालयको दुई कप चिया खाएका होलान्, जेनजीको दबाबमा आए, गए।’

उनले चार मन्त्रीलाई दोष नलगाउन बरु बरु आफूलाई लगाउन आग्रह गरिन् । सरकारमा भएका मन्त्रीहरूलाई रास्वपाको भन्दै गलत प्रचार गरेको भन्दै कार्कीले असन्तुष्टि जनाइन् ।