इरानका प्रदर्शनकारी इरफान सोल्तानी जमानतमा रिहा


तेहरान । इरानका प्रदर्शनकारी इरफान सोल्तानीलाई जमानतमा रिहा गरिएको उनका वकिलले बताएका छन्।

वकिल अमिर मौसाखानीले भने, ‘गत महिना हजारौँको मृत्यु भएको आन्दोलनका क्रममा २६ वर्षीय युवा सोल्तानीलाई शनिबार रिहा गरिएको छ र उहाँको सेलफोनसहित सबै सामान प्राप्त भएको छ।’

इरानमा हालै देशव्यापी विरोध प्रदर्शनका क्रममा सोल्टानीलाई जनवरी १० मा पक्राउ गरिएको थियो ।
इरानको इस्लामिक प्रणालीविरुद्ध प्रचार गरेको र राष्ट्रिय सुरक्षाविरुद्ध काम गरेको आरोपमा उनलाई तेहरानबाहिर कारजस्थित हिरासतमा राखिएको न्यायपालिकाले गत जनवरीमा बताएको थियो।

अमेरिकी विदेश मन्त्रालयले आफ्नो फारसी भाषाको एक्स अकाउन्टमा उनलाई मृत्युदण्डको सजाय सुनाइएको बताएको थियो।

इरानको न्यायपालिकाले पछि उनको मुद्दाको अनुसन्धान जारी रहेको र उहाँविरुद्धको आरोपमा मृत्युदण्डको सजाय नभएको बताएको थियो।

विरोध प्रदर्शन डिसेम्बर २८ देखि शान्तिपूर्ण प्रदर्शनको रूपमा सुरु भएको थियो तर प्रदर्शनकारीलाई दबाउन बल प्रयोग गरिएपछि पछि देशव्यापी हिंसा (दङ्गा) मा परिणत भएको थियो ।

इरानले अशान्तिका लागि उक्साएको भनी संयुक्त राज्य अमेरिका र इजरायलमाथि आरोप लगाएको छ। इरानी आन्दोलनलाई ‘आतङ्कवादी आक्रमण’ को रूपमा अघि बढाउन ती दुई देशहरूको हात रहेको आरोप लगाएको छ । विशेषगरी, जनवरी ८ र ९ मा प्रदर्शन चरम बिन्दुमा पुगेको र व्यापक हिंसात्मक घटना भएका थिए ।
तेहरानले प्रदर्शनका क्रममा तीन हजारभन्दा बढीको मृत्यु भएको स्वीकार गरेको छ, तर अधिकांश सुरक्षा बलका सदस्य र निर्दोष प्रत्यक्षदर्शीहरू मारिएको बताउँदै हिंसालाई ‘आतङ्कवादी गतिविधि’ को संज्ञा दिएको छ।

अमेरिकास्थित मानवअधिकार अनुगमन समूहको समाचार संस्था (एचआरएएनए) ले आन्दोलनका क्रममा छ हजार ७१३ प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको दावी गरेको छ ।

इरानमा अहिले आन्दोलनहरू रोकिएका छन् भने सरकार र इरानी सरकारविरोधी समूहबीच तनाव कम भइसकेको छ ।