प्रचण्डलाई विप्लवले भने-माओवादी आन्दोलनलाई विसर्जन गर्ने एकता हामीलाई चाहिएको होइन(भिडियो)


काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई माओवादीमा फर्कित आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा महासचिव विप्लवले प्रचण्डमा भयंकर विचलन आएको बताए । उनले भने, ‘एकताबाट भागेका प्रचण्डजीहरु गम्भीर त्रुटि र विचलनको बाटोमा हुनुहुन्छ। माओवादी आन्दोलन, विचारलाई छोडेर, माओवादी अनुशासनलाई भत्काएर, कम्युनिस्ट मूल्य–मान्यतालाई त्यागेर, अनि एउटा केवल एउटा सिट चुनावमा जित्नको लागि, एउटा संसद्मा जित्नको लागि विरोधीहरूसँग, वर्ग वैरीहरूसँग, विजातीय तत्त्वसँग गठजोड गरेर आन्दोलनको संरक्षण हुँदैन। त्यसैले त्यो भयङ्कर ठूलो विचलन हो।’

विप्लवले एकताको अपील विचलनकारीहरूले गरेको नसुहाउने बताए । उनले भने, ‘तपाईँ एकताको अपील पनि बेलाबेला गर्नुहुन्छ म त भन्छु एकताको अपील विचलनकारीहरूले गरेको सुहाउँदैन। आफ्नो मूल्य–मान्यताबाट भागेकोले गर्न सुहाउँदैन। एकताको अपील कसले गर्नुपर्छ ? एकताको अपील जनतासँग सम्पूर्ण रूपले जोडिएको शक्तिले गर्नुपर्छ। कसले गर्नुपर्छ ? अनुशासनमा बसेको पार्टी, नेता–कार्यकर्ताले गर्नुपर्छ। एकताहरूले कुरा बुझिएन भने, नेता र कार्यकर्ताले राम्रोसँग बुझ्नुपर्छ। संसारको कम्युनिस्ट आन्दोलनले दिएको शिक्षा कथित एकता होइन। हामीलाई नेपालमा माओवादी आन्दोलनलाई विसर्जन गर्ने एकता हामीलाई चाहिएको होइन।’