-नारायण गाउँले ।
देशको समस्या दलीयकरण थियो । शिक्षादेखि न्यायालयसम्म दलीयकरण भयो भन्ने हाम्रो असन्तुष्टि थियो । तर तावाबाट भुङ्ग्रोमा भनेझैँ पो भयो कि क्या हो । सबै दलका हुँदाहुँदै पनि हिजोसम्म एक दुई थान कलाकार बाँकी रहेछन्, पत्रकार र पुलिस बाँकी रहेछन् । केही थान स्वतन्त्र नागरिक र उम्मेदवार बाँकी रहेछन् । आज त कुनै ग्रे एरिया बाँकी छैन । कि यताको कि उताको भन्ने छ । गल्फ वारमा अमेरिकी राष्ट्रपति जर्ज बुशले सिङ्गो विश्वलाई कि आफूतिर कि आतङ्कवादतिर भन्दै बीचमा बस्ने छुट छैन भनेका थिए । आज स्थिति उस्तै छ । मानौं एकातिर लाखौं यमदूतमात्रै छन् । अर्कोतिर लाखौं देवदूतमात्रै उभिएका छन् । युद्धको शङ्ख बजेको छ । दशगजा भन्ने मेटिएको छ । कि झोले छ, कि भक्त छ । एउटा स्वतन्त्र नागरिक पाउन पनि मुश्किल छ, पत्रकार र वकिल कताबाट पाउनु ।
स्वतन्त्र भनेर मन्त्री बनाइएका पनि बाटैबाट दलमा पसे । हिजो सबैको हुँ भन्ने कलाकार आज झण्डामुनि छन् । एउटा आयोग बनाउन पर्यो भने निष्पक्ष देखिने अनुहार देशमा बाँकी छैन । भोलि न्यायाधीश चाहिएला, राजदूत चाहिएलान्, शिक्षक र प्राध्यापक चाहिएलान् । राष्ट्रिय सुरक्षामा विज्ञ र दक्ष मान्छे चाहिएलान् । कताबाट ल्याउनु । हिजो कम्युनिस्ट र कांग्रेसबीच पानी बाराबार थियो । एउटाले अर्कोलाई दलाल भन्थ्यो, सामन्त भन्थ्यो । बिहेबारी बन्द थियो । स्कुलमा शिक्षक एउटै दलको हुनुपथ्र्यो । त्रिचन्द्रमा नेविसङ्घ र आरआरमा अखिलले मात्रै पढ्न पथ्र्यो । स्कुलदेखि नै सबैले झण्डा बोक्ने हुनाले नै दलीयकरण भएको हो ।
आज नयाँ र पुरानो दल छ । अर्को साइडको त मान्छे नै होइन जस्तो हाम्रो मनोविज्ञान छ । तराईदेखि पहाड़सम्म देशभर मान्छेको स्वस्फूर्त ताँति छ, ती त जलाउनेहरू हुन् भनेको छ । हेपेको छ । आफूबाहेक अर्को दलमा लाग्ने र विश्वास गर्नेलाई लुटेरा, झोले र भेडा भनेको छ, घृणा रोपेको छ । आज त ईगोको क्षणिक तुष्टि होला । जित र हारको जोश र शोक होला । तर यो मानसिकता पखालिन एक पुस्ता लाग्नेछ ।
यो यात्रा शून्यबाट सुरु हुने होइन । हामी हाम्रा नेताले भाषण गरेझैँ सिङ्गापुर बन्न सकेनौं तर स्मरण रहोस्, एक दशकसम्म गृहयुद्ध भएका कति धेरै देश खरानी छन्, हामी अझै उभिएकै छौं । हाम्रो यात्रा बेटरका लागि हो । वी डिजर्भ बेटर ! देश भूपरिवेष्ठित छ । समुद्रसम्म सहज पहुँच छैन । भूगोल पनि समथर छैन । पहाड नै काटेर प्रतिकिलोमिटर बाटो बनाउन विश्वकै महँगो दर पर्छ । जनसङ्ख्या तराई झर्दो छ तर पहाडतिर बाटो लैजान पर्नेछ । राजश्व दश बाह्र खर्ब जति छ । तर बजेट १६–१७ खर्बको बनाउन पर्नेछ । हरेक वर्ष ५–६ खर्ब ऋण लिनै पर्ने बाध्यता छ । व्यापारघाटा १५–१६ खर्बमाथि छ । आज विदेश जाने जति सबै फर्किने हो भने देश टाट पल्टिने स्थिति छ । रेमिटेन्सबाहेक त्यो घाटा पूर्ति गर्ने अर्को स्रोत छँदै छैन । भ्रष्टाचार रोकियो भने केही अर्ब बचत होला तर प्वाल खर्बौं खर्बको छ । दक्षता, विज्ञता, सुशासन, धैर्य र राष्ट्रिय एकता नभई यो देश बन्दैन । सही मान्छे सही ठाउँमा नपुगी सुरु पनि हुँदैन । जादूको छड़ी भेटिएन भने यो यात्रा कम्तिमा बीस वर्ष लामो हो ।
राजनीतिलाई ईगो, आवेग, घृणा र विभाजनको साधन बनाएर हामी कहीँ पुग्दैनौं । भाषण राम्रो गर्ने छानेर या ह्याण्डसम लुक्सको नेता छानेर मात्रै देश बन्दैन । देश बन्न एउटा दिमाग सद्दे भएर पनि पुग्दैन । यो सामूहिक यज्ञ हो । सबै मान्छे दलमा लाग्नु खासमा कुनै समस्या होइन । यो व्यवस्था नै दलीय व्यवस्था हो । समस्या विभाजन र घृणाको हो । सामाजिक सद्भाव र सहिष्णुताको हो । आलोचनात्मक चेत र विवेकको हो । देश बनाउने नै दलले हो । अन्त कता लाग्ने ? अतिवाद र घृणावाद जसले बेच्छ, देशको शत्रु त्यही हो । आफूबाहेक अरू सबै खराब भन्नु पनि अतिवाद हो । आफूबाहेक अरू सबै विदेशी गोटी हुन् भन्नु पनि अतिवाद हो ।
जसलाई मन पर्छ, खुलेर भोट गर्नुहोस् । यो नेपाली चुनाब हो । आफ्नै नागरिकले जित्ने हो । तर अतिवादलाई चाहिँ आफ्नैजस्तो लागे पनि बहिष्कार गर्नुहोस् । देश त बरु आज नबने भोलि बन्ला तर सद्भाव र विश्वास उम्रिन एक पुस्ता पूरै लाग्छ ।

प्रतिक्रिया