राष्ट्रिय लिग फुटबलमा एनआरटी विजयी


काठमाडौँ । राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड टिम(एनआरटी) विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहीबार भएको खेलमा एनआरटीले आफ्नो पाँचौँ खेलमा सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

एनआरटीलाई जित दिलाउन कृतिशरत्न छुन्जु र टिमोथी ओकेरेकेले समान एक/एक गोल गरे । एक गोल एनआरटीले आत्मघाती उपहारका रुपमा प्राप्त गर्यो ।

एक गोलले पछाडि परेका अवस्थामा कृष्णबहादुर आलेले सङ्कटालाई खेलमा फर्काएका थिए । त्यसपछि खेलमा गोल हुन सकेन र एनआरटी विजयी भयो ।

जितसँगै एनआरटीले शीर्ष स्थानका दुई टोली–नेपाल एपिएफ क्लब र मछिन्द्र एफसीसँग बराबरी अङ्क बनाएको छ । एनआरटी, नेपाल एपिएफ क्लब र मछिन्द्र एफसीको समान १२ अङ्क भएको छ । सङ्कटाको पाँच अङ्क छ ।