आयोगलाई हर्क साम्पाङको जवाफः बालबालिकालाई चुनावी प्रचारमा प्रयोग गरेको भन्ने उजुरी भ्रामक र कपोलकल्पित


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाएका छन् । आफूमाथि लागेको आरोप ’कपोलकल्पित र पूर्वाग्रही’ रहेको दाबी गर्दै आयोगलाई स्पष्टीकरण बुझाएका हुन् । उनले कुनै पनि स्थान वा समयमा बालबालिकालाई निर्वाचनमा खटाउने निर्णय वा निर्देशन नदिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘श्रम संस्कृति पार्टीले बालबालिकालाई चुनावी प्रचारमा प्रयोग गरेको भन्ने उजुरी साँचो होइन, कपोल्कल्पित, भ्रामक र दुःख दिने नियतले गरिएको उजुरी मात्रै हो । कुनै पनि मिति, समय र स्थानमा श्रम संस्कृति पार्टीले बालबालिकाहरुलाई चुनावी प्रचारप्रसारमा खटाउने निर्णय गरेको छैन, खटाएको, निर्देशन दिएको, फकाएर बोलाएको या कुनै प्रलोभन दिएर प्रचार गर्न लगाएको छैन । जहाँसम्म उम्मेद्वारको फोटो सहितको टी शर्ट लगाएको भन्ने कुरा आएको छ । सो सन्दर्भमा म हर्कराज राई ( हर्क साम्पाङ ) ले देश विकासमा नयाँ आयामिक मोडल श्रमदानको मोडल ल्याएर सारा नेपालीलाई श्रमदान गर्न प्रेरित गरिरहेको यथार्थ देखेर मेरो फोटो राखेर टी शर्टहरु छापी श्रमदाताहरुलाई दिंदा थप प्रेरणा र ऊर्जा मिल्छ भन्नाका खातिर वैदेशिक रोजगारमा रहनुभएका नेपाली दाजुभाइ दिदीबैनीहरुले यहाँका श्रमदाताहरुलाई टी शर्त छापिदिने गरेको जानकारी गराउँदछु ।’

उनले श्रमदानमा आउने क्रममा केही अभिभावकका बालबालिकाले रहरले ती टिसर्ट लगाएका हुनसक्ने तर उनीहरूलाई काममा लगाइएको भन्न नमिल्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘वयस्क त प्रौढहरुलाई नै अह्राउन त भ्याउँदिन, हजारौं जनाको चुनाव परिचालन समिति रहेको छ ! मलाई जनशक्तिको अभाव छैन । मलाई जनशक्तिको अभाव नभएकोले बालबालिकाको मद्दत लिनु पर्ने कुरै आउँदैन । आमाबाबालाई पछ्याएर आएका हुन सक्छन् केही जसको मलाई कुनै जानकारी छैन । जुन कुराको मलाई यकिन जानकारी नै छैन त्यसको बारे कसरी मलाई कसुरवार मान्दै उजुरी आयो म छक्क परिराछु । उजुरी सरासर गलत हो । उजुरीकर्तासङ्ग मैले कुनै बालबालिकाहरुलाई प्रचार गर्न अह्राएको या फकाएर त्यस्ता कृत्यमा लगाएको, निर्देशन दिएको घटना पुष्टी हुने प्रमाण छैन ।’