दाम्पत्यमा आपसी सम्बन्धको हेक्का


-डा. गोविन्दशरण उपाध्याय ।

पतिपत्नी हुनु केवल कानुनी वा सामाजिक संरचना होइन, यो दुई चेतनाहरूको साझा जीवन–यात्रा हो । प्रेमबाट सुरु भएको यो यात्रा आपसी समझदारी, सम्मान र सम्बन्धप्रतिको जिम्मेवारीबोधमा आधारित हुन्छ। आज पतिपत्नीका बिचमा देखिएको गम्भीर संकटको जड बाहिरी कारणभन्दा पनि पति–पत्नीबीचको सम्बन्धलाई पर्याप्त महत्व नदिइनु हो। जव पतिपत्नीले एकआपसको सम्बन्धका लागि चाहिने भौतिक, मानसिक, आध्यात्मिक तथा बौद्धिक क्रियाप्रतिक्रियालाई वेवास्ता गर्न थाल्छन्, पतिपत्नीको सम्बन्धमा गहिरो समस्या उत्पन्न हुन थाल्छ ।

दाम्पत्यमा ‘सम्बन्ध’ भन्नाले स्वामित्वको भावना होइन, साझेदारी र समर्पणको चेतना बुझिनुपर्छ। दाम्पत्य सम्बन्ध कुनै एक पक्षको नियन्त्रणमा होइन, दुवैको सचेत सहभागिताबाट जीवन्त रहने प्रक्रिया हो। जहाँ ‘म’ भन्दा ‘हामी’ बलियो हुन्छ, त्यहीँबाट दाम्पत्यको स्थायित्व सुरु हुन्छ। शिवपार्वती, लक्ष्मीनारायण र इन्द्र शचीको दम्पत्य एउटा कथामात्र होइन, दाम्पत्यजीवन जीवनलाई सुखी र मधूर राख्ने मनोबल भएका दम्पतिका लागि प्रेरणा हो ।

कसैको पनि दाम्पत्य सम्बन्ध अचानक टुट्दैनन्, ती बिस्तारै कमजोर बन्दै जान्छन्। साना भावना नसुन्ने, पीडालाई सामान्य ठान्ने र एक–अर्कालाई समय नदिने प्रवृत्तिले सम्बन्धभित्र मौन दूरी सिर्जना गर्छ। यही दूरी बढ्दै जाँदा दाम्पत्य खोक्रो बन्न थाल्छ।

आजका केही दम्पती एउटै घरमा बसेर पनि भावनात्मक रूपमा अलग देखिन्छन्। शारीरिक नजिकोपन हुँदाहुँदै पनि मानसिक दूरी बढ्नु सम्बन्धप्रतिको उदासीनताको संकेत हो। सम्बन्ध आफैं चलिरहन्छ भन्ने भ्रमले दाम्पत्यलाई सबैभन्दा ठूलो क्षति पुर्याएको छ।

जब पति–पत्नीबीचको सम्बन्ध कमजोर हुन्छ, तब बाहिरी कुराले सजिलै हस्तक्षेप गर्छ। मोबाइल, सामाजिक सञ्जाल, कामको तनाव, पारिवारिक दबाब—यी सबै तब समस्याका रूपमा देखिन्छन् जब सम्बन्धभित्र आत्मीयता र विश्वास कमजोर हुन्छ।
दाम्पत्य सम्बन्ध शक्ति प्रदर्शनको क्षेत्र होइन। यहाँ जित–हारको मानसिकता आएपछि प्रेम र आत्मीयता हराउँछ। को सही र को गलत भन्ने विवादभन्दा महत्वपूर्ण कुरा सम्बन्ध सुरक्षित छ कि छैन भन्ने हो । अहंकार जित्दा सम्बन्ध हार्ने जोखिम सधैं रहन्छ । त्यसैले अहङ्कारलाई होइन प्रेमपूर्ण समानता र सम्बन्धलाई महत्व दिउँ ।

पतिपत्नीका बीचमा स्वास्थ्य सम्बाद दाम्पत्यको आधार हो, तर संवादको अर्थ केवल बोल्नु मात्र होइन। अर्काको कुरा धैर्यपूर्वक सुन्नु र भावनालाई सम्मान गर्नु संवाद–संस्कोकृतिको मूल आत्मा हो। आरोप, कटाक्ष र तुलना संवादका शत्रु हुन्, जसले सम्बन्धलाई उपचार होइन, घाउ दिन्छन्। वैदिक कथाहरू शिवपार्वती सम्बादे, विष्णुलक्ष्मी सम्वादेबाट आरम्भ हुन्छन् ।
विश्वास दाम्पत्यको मेरुदण्ड हो। विश्वास केवल निष्ठाको विषय होइन, यो भावनात्मक सुरक्षाको अनुभूति पनि हो। कठिन अवस्थामा पनि “म एक्लो छैन” भन्ने अनुभूति नै साँचो दाम्पत्य विश्वास हो। हरेक दम्पतिले एकआपसमा तिम्रो लागि म छु“ भन्ने विश्वास दिलाउनु पर्छ ।

प्रेमसँगै सम्मान दाम्पत्यको अर्को महत्वपूर्ण आधार हो। सम्मान बिना प्रेम टिकाउ हुँदैन। शब्द, व्यवहार र दृष्टिकोण—सबैमा सम्मान झल्किनुपर्छ। मौन अपमानले सम्बन्धलाई बिस्तारै भत्काउँछ। आजको जीवनशैलीमा अधिकारले कर्तव्यलाई जितेको छ । लोग्नेस्वास्नीको सम्बन्धमा अधिकार र कर्तव्य दूवैको दायित्व हुन्छ । अधिकारवादको रटानले सम्बन्ध विग्रन्छ ।

आजको दाम्पत्यमा सबैभन्दा कमी धैर्यको देखिन्छ। सम्बन्ध परिपक्व हुन समय लाग्छ, तर तत्काल समाधान खोज्ने प्रवृत्तिले सम्बन्धलाई अस्थिर बनाएको छ। साना समस्यामा ठूलो निर्णय लिने बानी दाम्पत्यका लागि घातक हुन्छ। दाम्पत्यका सुरुआती दिनहरू सुखद हुन्छन् तर व्याबहारिक जीवनमा पाइला चाल्दै गर्दा अनेकौं समस्याहरू झेल्नु पर्ने हुन्छ । दम्पतिले यस्तो परीक्षाका लागि आफुलाई तयार गर्न ‘धैर्य’को अभ्यास गर्नुपर्छ ।

दाम्पत्यमा आफ्नो सम्बन्धलाई प्राथमिकता दिनु आत्मत्याग होइन, आत्मबोध हो। यहाँ कुनै पनि व्यक्ति हराउनु हुँदैन; दुवै व्यक्तित्व सुरक्षित र सम्मानित रहनुपर्छ। स्वस्थ सम्बन्धमा स्वतन्त्रता र प्रतिबद्धता दुवै सन्तुलनमा रहन्छन्।
पति–पत्नी एक–अर्काका पहिलो भावनात्मक सहारा हुन्। घरभित्र मानसिक सुरक्षा नपाउँदा व्यक्ति बाहिर शान्ति खोज्न बाध्य हुन्छ। त्यसैले दाम्पत्य सम्बन्ध मानसिक स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ।

दाम्पत्य केवल सन्तानका लागि टिकाइने सम्बन्ध होइन। यो दुई परिपक्व व्यक्तिहरूको सचेत सहयात्रा हो। ‘बच्चाका लागि सहनु’ भन्दा ‘सम्बन्ध सुधार्नु’ दीर्घकालीन समाधान हो। सम्बन्ध जोगाउन कहिलेकाहीँ झुक्न जान्नुपर्छ। झुक्नु कमजोरी होइन, सम्बन्धप्रतिको प्रतिबद्धताको संकेत हो। जहाँ दुवैले लचकता देखाउँछन्, त्यहाँ कठोरता टिक्न सक्दैन। दाम्पत्य प्रेमको निरन्तर अभ्यास हो। प्रेम कुनै एकपटक व्यक्त हुने भावना होइन, यो दैनिक व्यवहार, शब्द र मौनमा प्रकट हुने साधना हो। आफ्नो एकआपसी सम्बन्धलाई केन्द्रमा राखेर जिउन सके दाम्पत्य बोझ होइन, जीवनको सबैभन्दा अर्थपूर्ण यात्रामा रूपान्तरित हुन्छ। प्रेम विना पनि यौन हुन सक्छ तर प्रेमपूर्ण सहमति सहितको यौनले जीवनमा निकटता, विश्वास र आत्मसम्मानको स्तर वृद्धिगर्छ । त्यसैले हरेक दम्पत्तिले आफ्नो सम्बन्धका विषयमा विशेष हेक्का राखौं र सम्बन्धलाई सरल, सहज र प्रेमपूर्ण बनाउने भौतिक तथा मानसिक क्रियाकलापलाई प्राथमिकतामा राखौं ।
जय दाम्पत्य