चितवन । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ४८० जनामा क्षयरोगको सङ्क्रमण देखिएको छ । जनस्वास्थ्य कार्यालय चितवनका क्षय कुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार साउनयता दुई हजार ६५६ जनाको परीक्षण गरिएकामा ४८० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
तीमध्ये ८१ जनाले छ महिनाको औषधि पूरा गरेका छन् भने ३९९ जनाले अहिले नियमित औषधि सेवन गर्दै आएका छन् ।
उनले सङ्क्रमितहरूले जिल्लाका १०७ वटा औषधि वितरण संस्थाबाट नियमित औषधि सेवन गर्दै आएका जानकारी दिए ।
क्षयरोग प्रमाणित गर्नका लागि जिल्लामा ३२ वटा सेन्टर सञ्चालनमा रहेका जनाउँदै क्षय कुष्ठ अधिकृत दुवाडीले तीमध्ये २८ वटा ‘माइक्रोस्कोप’ र चार वटा ‘जिनएक्स्पर्ट’ गर्ने संस्था रहेका बताए । जिल्लामा गत वर्ष एक हजार ८९ जनामा क्षयरोगको सङ्क्रमण देखिएको थियो । तीमध्ये ४०० महिला र ६८९ पुरुष थिए ।
यहाँका सात वटै पालिकामा यो रोगका सङ्क्रमित रहेका क्षय कुष्ठ अधिकृत दुवाडीले बताए । गत वर्ष १३ हजार १०७ जनाको परीक्षण गरिएको थियो । उनका अनुसार यो रोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाको सङ्क्रमणका कारण हुन्छ ।
‘रोग लागेको सुरुआती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने र कमजोरी महसुस हुने गर्दछ । मानिसहरूले यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन्, जसकारण विस्तारै क्षयरोगको ब्याक्टेरियाको सङ्क्रमण फैलिन गई गम्भीर समस्या निम्त्याउँने गर्दछ’, दुवाडीले भने ।
रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सक कहाँ जानुपर्ने उनले सुझाव दिए ।
यो रोग लागेमा सुर्ती मिसाएर बनेका कुनै पनि पदार्थ सेवन नगर्ने, सुरु गरेको भए तुरुन्तै छोड्ने गर्नुपर्छ । अधिक मदिरा, लागूपदार्थ वा औषधि सेवन गर्न नहुने उनले जानकारी दिए ।
स्वास्थ्यकर्मीको परामर्श लिई नियमित रूपमा पूरा समय (छ देखि आठ महिना)सम्म निःशुल्क प्राप्त हुने औषधि सेवन गर्ने, औषधि सेवन गर्न शुरु गरेपछि स्वास्थ्यकर्मीको सल्लाहअनुसार समयसमयमा परीक्षण गर्नेजस्ता कार्य गर्न आवश्यक रहेको क्षय कुष्ठ अधिकृत दुवाडीले बताए ।

प्रतिक्रिया