निर्वाचन क्षेत्रमा गगनः मैले हिजो प्रश्न गरेँ, म आज त्यसको उत्तर खोज्ने गरी आएको छु


सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताएका छन् ।
सोमबार सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताएका हुन् । सिमरा विमानस्थलमा आर्लेपछि ठाउँठाउँमा मधेसका साथीहरुले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो ।

नेपाली कांग्रेसको नेता भएको हैसियतले सभापति थापाले मधेसले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुणबारे जानकार भएको बताए । ‘अब म यहाँको भाषा, रहनसहन, वेशभूषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरुले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो’, उनले भने, ‘म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनिमात्रै बोल्छु ।”

काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधि भएर मधेसका सवालहरू संसद्मा धेरै पटक उठाएको उल्लेख गर्दै उनले यस पटक मधेस र मधेसका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाए । एक पटक भए पनि मधेसप्रति समर्पित नभई, मधेसमा आफू र आफूमा मधेस नल्याई सम्पूर्ण रुपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेस झरेको उनले स्पष्ट पारे ।

उनले भने, ‘मधेसले सिंगो नेपालभित्र जुन मान, सम्मान, बराबर हैसियत प्राप्त गर्नुपर्ने हो, किन नपाएको होला ? यो प्रश्न मैले धेरैपटक उठाएँ । तर म प्रश्न उठाउन होइन, त्यसको उत्तर खोज्ने गरिकन तपाईंको प्रतिनिधि बन्न यहाँ आएको छु । अत्यन्त उत्साहित बनाएको छ । म नेपाली कांग्रेसको कार्यकर्ता हुँ । कांग्रेसको कार्यकर्ता भएको हुनाले गर्दा मधेसले कांग्रेसलाई लगाएको गुन, मधेसले नेपालको प्रजातन्त्रलाई लगाएको गुन, मधेसले सिंगो नेपाललाई लगाएको गुनको बारेमा राम्रोसँग जान्दछु । धेरै पढेर जान्दछु । किनकि म धेरै पछिको मान्छे हुँ । बीपी कोइरालाको बारेमा पढेर जान्दछु । मधेसले दिएको शहीदहरूको बारेमा पढेर जान्दछु । र पछिल्लो समय, मैले सबैभन्दा बढी संगत गरेको नेता प्रदीप गिरी हुनुहुन्छ । प्रदीप गिरीलाई हामी ‘चल्ताफिरता मधेस’ भनेर भन्छौँ । हामीलाई लिएर आउने, मधेसको बारेमा बताउने हाम्रो युगको नेता हुनुहुन्थ्यो, अहिले हाम्रो बीचमा हुनुहुन्न । मलाई त्यही बेलादेखि एउटा कुरा खड्किरहेको थियो । मेरो बाआमा पहाडबाट काठमाडौं आउनुभएको हो । त्यसैले पहाडको बारेमा मैले थाहा पाउने मौका पाएँ । हरेक वर्ष जान्थेँ । म काठमाडौंमा जन्मेको, हुर्केको हुनाले गर्दा काठमाडौंको रहनसहन, सुखदुःख त्यसै पनि थाहा पाउने भएँ ।’

यति धेरै सम्भावना हुँदा पनि मधेसका मानिस किन खाडी जानुपर्ने बाध्यता भयो, त्यसको उत्तर खोज्न आफू आएको बताए । उनले भने, ‘म अहिले यो बीचमा हुलाकी राजमार्गको यात्रा गर्दै गर्दा, मैले जति दिन हिँडेँ, त्यो दिन देखेको हुँ– कि यति धेरै सम्भावना भएको, यति धेरै खेती किसानीमा यहाँका दाजुभाइ दिदीबहिनी रम्दै गर्दाखेरि पनि यति धेरै यहाँका मानिसहरू खाडीमा काम गर्न जानुपर्ने बाध्यता किन भएको होला ? मैले हिजो प्रश्न गरेँ, म आज त्यसको उत्तर खोज्ने गरी आएको छु ।’

त्यस्तै उनले मधेसमा अहिले शिक्षा खस्किएको भन्दै त्यसलाई उकाक्नुपर्ने बताए । उनले भने, ‘कुनै बेला पहाडमा होला, काठमाडौंमा होला । मधेशको यहाँबाट कोही नगईकन गणितको कक्षा चल्दैन थियो । विज्ञानको कक्षा चल्दैन थियो । अहिले गणित र विज्ञान राम्रो नभईकन अबको १०–१२–१५ वर्ष नेपालको पनि आम्दानीको सबैभन्दा ठूलो स्रोत भनेको सूचना प्रविधि हो । सूचना प्रविधिको लागि केटाकेटीदेखि नै गणित जान्नुपर्छ, विज्ञान जान्नुपर्छ । मेरा बाहरूलाई सोलुखुम्बुको पहाडमा गएर सप्तरीको गणित शिक्षकले गणित पढाउनुभयो र मेरो बा इन्जिनियर बन्न सक्नुभयो ।हिजो कुनै बेला त्यो इतिहास बोकेको मधेसमा आज देशभरिमा सबैभन्दा गणित र विज्ञान, अंग्रेजी तीनवटै भाषामा सबैभन्दा बढी कमजोर हाम्रो मधेसको विद्यालयहरू भएको अवस्था छ । मैले यो प्रश्न हिजो संसदमा उठाएँ, तर म आज यसको उत्तर खोज्न आएको हुँ । उत्तर पनि खोज्छु, समाधान पनि दिन्छु ।’

सम्बोधनका क्रममा उनले आफ्ना भावी योजनाबारे पनि बताए । उनले भने, ‘मसँग मेरा आफ्ना केही कार्यक्रमहरू छन्, योजनाहरू छन् । समय सँगसँगै तपाईंहरूलाई मैले बताउँछु । म जे गर्छु भनेर आएको छु, त्यो गर्ने एउटा मनभित्र प्रतिबद्धता लिएर आएको छु । शिक्षामा लामो समयदेखि मलाई मद्दत गरिराख्नुभएको साथीहरू दुई दिनदेखि यो क्षेत्रमा घुमिराख्नुभएको छ । स्वास्थ्यमा मैले लामो समय काम गर्ने मौका पाएँ, स्वास्थ्यको मेरो टिम पनि विगत दुई दिनदेखि यही क्षेत्रमा घुमिरहेको छ । कृषिको एउटा समूह आज मसँगै आएको छ । र सिँचाइको सन्दर्भमा करिब एक हप्तादेखि मेरो टिम यो क्षेत्रमा घुमिरहेको छ । म, मलाई आउँदै गर्दा साथीले लेखेर दिनुभएको थियो– यो बोल्नुस्, यो बोल्नुस् भनेर । म केही पनि बोल्दिनँ । किनकि अर्काले लेखेर दिएको, मैले यहाँ आएर पढेर तपाईंहरूको बीचमा आएर म बोल्दिनँ । मेरो टिमले यहाँ आएर सबै ठाउँ बसेर तयारी गर्छ । त्यो तयारी गरेको आधारमा त्यसलाई म मेरो कार्यक्रम बनाउँछु र ५ वर्षसम्म तपाईंहरूको बीचमा बसेर मैले त्यो समस्याको समाधान गर्छु ।’