भूउपग्रहमा प्रहार गर्न सकिने क्षेप्यास्त्रजस्तो हतियारको अन्तरिक्षमा परीक्षण गरेको अमेरिका र यूकेको दाबीलाई रुसले अस्वीकार गरेको छ । रुसको रक्षा मन्त्रालयले जुलाई १५ मा गरिएको परीक्षणले कुनै पनि भूपग्रहलाई खतरा नभएको बताएको हो । रुसले यसअघि नवीनतम अन्तरिक्ष प्रविधि परीक्षण गर्ने क्रममा एउटा सानो यानमा भएको विशेष उपकरण प्रयोग गरेर एउटा भूउपग्रह जाँचिएको बताएको थियो ।
तर अमेरिका र वेलायतले अन्तरिक्षमा गरिएको सो परीक्षणप्रति चिन्ता व्यक्त गरेका छन् । वेलायतको अन्तरिक्ष निर्देशनालयका प्रमुख एअर भाइस मार्सल हार्भे स्मिथले रुसले एउटा भूउपग्रहबाट हतियारको जस्तो गुण भएको उपकरण परीक्षण गरेको प्रक्रियाबाट आफूहरु चिन्तित भएको बताएका छन् । वेलायतले रुसको अन्तरिक्षमा गरिएको परीक्षणबारे आरोप लगाएको यो पहिलो पटक हो। अमेरिकाले पहिला पनि अन्तरिक्षमा रुसको गतिविधिबारे प्रश्न उठाउने गरेको छ ।
अमेरिकी सरकारले भूउपग्रहलाई मार हान्न सकिने क्षमता भएको उक्त अस्त्रको प्रयोगलाई चिन्ताको विषय भनेको छ । अमेरिका र रुसबीच आगामी साता भियनामा अन्तरिक्ष सुरक्षाको विषयमा सन् २०१३ यता पहिलो पटक द्विपक्षीय वार्ता गर्ने तयारी छ । वार्ता अन्तरिक्ष कानुन नभएको क्षेत्र भएको कुरालाई प्रकाशमा ल्याउने एउटा मौका हुनसक्ने अन्तर्राष्ट्रिय सुरक्षा र निशस्त्रीकरणसम्बन्धी अमेरिकी सहायक मन्त्री क्रिस्टोफर फोर्डले बताएका छन् ।
शुक्रवार रुसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरी रुसको एउटा ’निगरानी’ भूउपग्रहले रुसी अन्तरिक्ष यानलाई नजिकैबाट एउटा विशेष सानो अन्तरिक्ष उपकरण प्रयोग गरेर निरीक्षण गरेको बताएको छ । रुसले सो कार्यले अन्तर्राष्ट्रिय कानुनको कुनै पनि मापदण्ड वा सिद्धान्तलाई उल्लङ्घन नगरेको बताएको छ ।

प्रतिक्रिया