देउवा, गगन, पूर्णबहादुर, शेखर एकठाउँमा अहिलै बस्नुुस्, घेराबन्दीबाट बाहिर आउनुहोस् र निर्णय गर्नुस्


काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आगामी निर्वाचनका लागि दुबै पक्ष मिलेर जानुपर्ने बताएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत शेरबहादुर देउवा निकट विश्वकर्माले आगामी निर्वाचनका लागि दुबै पक्ष मिल्नुपर्ने बताएका हुन्। उनले आधा टिकटमा देउवाले हस्ताक्षर गरेको र बाँकी आधामा सभापति गगनकुमार थापाले गरेको हुँदा त्यसलाई स्वीकारेर जानुपर्ने बताएका हुन् ।

यस्तो विश्वकर्माको भनाई

आदरणीय नेताज्यू तथा साथीहरू
जय नेपाल !
हाल हाम्रो पार्टी मात्रै होईन, राष्ट्रवादी लोकतान्त्रिक राजननैतिक दलहरू संगै मुलूकको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता गम्भीर मोडमा छ । यो अवस्थावाट मुलूकलाई जोगाउने बलियो आधार घोषित निर्वाचन हुन सक्छ भनेर निष्कर्ष निकाल्यौ । सबैलाई आह्वान गर्यौँ । जसका कारण सवै दल निर्वाचनमा होमिएका छन ।
तर मुलूकको पहिलो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेस भने नदुखेको टाउको आफैं ठोक्दै रूँदै गरिरहेको छ । यो हाम्रा लागि मात्र होइन मुलूक र लोकतान्त्रिक प्रणालीका लागि दुर्भाग्य हो ।

पार्टीको नियमित महाधिवेशन हुँदै थियो । विशेष किन गर्नु परेको ? विशेष गर्ने नै भए पार्टीले निर्णय किन नगरेको ? जवर्जस्ती आयोजना हुन लाग्दा पार्टीले अपनत्व र वैधानिकता दिन किन नमानेको ? नीति महाधिवेशन मात्र हो भनेर फेरि नेतृत्व भंग र चयनमा किन प्रवेश गरेको ? आदि इत्यादि यस्तै विषयले कांग्रेस अहिले विवादै विवादले थलिएर उड्नु पर्ने दौडन सकेको छैन ! दौडन पर्ने हिँड्न सकेको छैन । हिड्न पर्ने घस्रन सकेको छैन ।

विशेष महाधिवेशनको प्रक्रिया, निर्वाचन आयोगको भूमिका र अदालतको निष्क्रियतासंग मेरो पनि विमति छ । यसकाबारेमा आयोग र अदालतमा हाम्रा विमतिहरू दर्ज भएर विचाराधीन छन् । तर प्रक्रियमा काफी विमतिका बाबजुत पनि फागुन २१ को निर्वाचनको परिणामलाई मध्यनजर गरि हाम्रा विचमा ऐतिहासिक सहमति र एकता हुनु अपरिहार्य छ ।

यसका लागि न विशेष महाधिवेशनवाट सर्वसम्मत निर्वाचित सभापति गगन थापाको एकल निर्णय, नत चौधौ महाधिवेशनबाट निर्वाचित सभापति देउवाको एकल निर्णयवाट आसन्न निर्वाचनमा पार्टीले विजय हासिल गर्न सक्छ । केवल सवैको साझा सहमति प्रयास र उम्मेदवारले मात्र राम्रो परिणाम दिन सक्छ । तसर्थ विवाद अब आयोग मात्रै होइन अदालत पुगिसक्यो । अब झगडा अदालतमा छौडौँ । परिणाम जे आउछ मान्न तयार बनौँ । हिजो भाद्र २४ मा घर छोड्न तयार भयौँ ज्यानका लागि आज घमण्ड त्याग्न तयार बनौँ पार्टीका लागि ।

झगडिया अरू कोही होइन हामी एकाघरका हौँ । हिजो भाद्र २४ को उपचार फागुन २१ को निर्वाचन हुन सक्छ भने जस्तै हाम्रो झगडाको मिलन पनि यही निर्वाचनले गराऊन सक्छ । हिजो उम्मेदवारको टिकटमा कस्को हस्ताक्षर हुने भन्ने विवाद थियो । आधामा देउवाले गर्नु भयो । बाँकीमा अब गगनले गर्नुहुन्छ । सबैको सहमतिमा ऊम्मेद्वार चयन गरौँ । उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेद्वारको पक्षमा भोट माग्ने वातावरण बनाऔँ । यसका लागि देउवा, गगन, पूर्णबहादुर, शेखर एकठाउँमा अहिलै बस्नुस् । घेराबन्दीवाट बाहिर आउनुहोस् र निर्णय गर्नुहोस् ।

त्यसैले वीपी, सूवर्ण, गणेशमान, किसूनजीले बनाएको, गिरिजाप्रसाद, सुशील र शेरबहादुरले हाँकेको ऐतिहासिक पार्टी नेपाली कांग्रेसका साथीहरूले उत्साह, उमंग र एकताका साथ भन्नेछन्
‘हिजो पनि रूख, आज पनि रूख, भोलि पनि रूख’
भोट के मा रूखमा ! नेपाली कांग्रेस जिन्दावाद !!
जयनेपाल !!!!!