आयोगको निर्णय दूराशयपूर्ण रहेको देउवा समूहको ठहर, न्यायका लागि अदालत जाने


काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णय दूराशयपूर्ण भएको निष्कर्ष निकालेको छ ।

शनिबार बसेको देउवा समूहको बैठकले आयोगको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालत जाने निर्णय गरेको नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।

महतले भने, ‘बैठकले कांग्रेसको सम्बन्धमा निर्वाचन आयोगले माघ २ गते गरेको निर्णय संविधान प्रचलित कानून र विधानको विरुद्ध गरिएको ठहर गरेको छ । तथाकथित विशेष महाधिवेशनको वैधानिकता नहेरी दूषित मनसायले प्रेरित रहेको ठहर गर्दछ । यो कांग्रेसलाई गम्भीर क्षति पुर्याउने मनसायसाथ निर्णय गरिएको छ । अदालतबाट हामीहरूले न्याय पाउँछौँ।’

आयोगले शुक्रबार कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गरिएको निर्णय अद्यावधिक गर्दै वैधानिकता दिने निर्णय गरेको थियो । यो निर्णयसँगै सभापति गगन थापा नेतृत्वको कार्यसमिति आधिकारिक भएको छ ।