आफ्नो पक्षमा आयोगले निर्णय नगरेमा देशभर आन्दोलन गर्ने देउवा समूहको चेतावनी, तयार रहन कार्यकर्तालाई निर्देशन


काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले निर्वाचन आयोगले गगन थापा समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगले कानुन र पार्टी विधानविपरीत निर्णय गरेमा देशभर आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

उनले भने, ‘हामीमाथि हुने गलत निर्णयविरुद्ध पार्टीले आवश्यक परेको बेला बोलाउँछ । त्यो बेला उपस्थित हुन तम्तयार रहन पार्टी नेता तथा कार्यकर्ता र शुभचिन्तक सबैलाई आग्रह गर्दछु । हाम्रो चुनाव चिह्न र नाम तलमाथि भए हामी आन्दोलनमा जानुको विकल्प छैन ।‘

उनले निर्वाचन आयोगले आफ्नो पक्षमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्न सक्ने तर बोलाउन सक्ने व्यवस्था नरहेको जिकिर गरे । उनले केन्द्रीय समितिले मात्र विशेष महाधिवेशन बोलाउन सक्ने बताए ।

उनले भने, ‘विशेष महाधिवेशन माग गर्नेहरूले नियमित महाधिवेशन विकल्पमा राखेकोले हामी नियमित महाधिवेशतर्फ अघि बढेको अवस्थामा विशेष महाधिवेशनको औचित्य थिएन।’

खड्काले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै पार्टी फुट्ने अवस्था आए कसैले विषय पिउँछु र कसैले हलबाट बाहिर निस्कन्छु भने पनि अन्तिममा पार्टी फुटाएको बताए ।

उनले भने, ‘एक जनाले विष पिउँछौं भन्नुभयो, अर्कोले त्यस्तो अवस्था आए हलबाट पहिले बाहिर निस्कन्छु भन्नुभएको थियो। यस्तो झुटो आश्वासन र वचन दिएर उहाँहरूले पार्टीलाई विखण्डनमा पुर्याउनुभयो ।’