रविको मुद्दा फिर्ताका विषयमा सुदन र बालेन किन मौन ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णय यतिबेला आलोचित बनेको छ । सत्ता र शक्तिको आडमा सुशीला कार्की नेतृत्वको सरकारले मुद्दा फिर्ता लिएको भन्दै यसको विरोध भएको छ । जेनजी आन्दोलनपछि बनेको सरकारले यस्तो निर्णय गरेको भन्दै विरोध भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यो निर्णयबाट महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मको लागि कलङ्कित भएको बताए । उनले भने, ‘महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मको लागि कलङ्कित भएको छ। लज्जाको विषय भनेको छ। यस्तो पनि हुन्छ, डिम्बका काण्ड बिर्सिम् भन्यो फेरि अर्को काण्ड। फेरि अर्को काण्ड। दुनियाँको हिनामिना भएको पैसा कसले महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ? अब कसैलाई मुद्दा लाग्दैन, कसैको सम्पत्ति खाए पनि, मजाले खान पाइन्छ। मुद्दा लाग्दैन। हिजो भुलकुकले मुद्दा लागेको रहेछ भने पनि माफी मिनाहा हुन्छ । अभियोग फेरिन्छ । चुनावमा हिरो बनाएर अघि सारिन्छ ।’

बुधबार महान्यायाधिवक्ता सविता भण्डारीले दुई वटा मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् । जेनजी मुभमेन्ट नेपालले रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै आपत्ति जनाएको छ । जेनजी मुभमेन्टले शक्तिको दुरुपयोग भएको आरोप लगाएको छ । मुभमेन्टका प्रवक्ता विजय शाहले विज्ञप्ति जारी गरी शक्तिको दुरुपयोग गर्ने महान्यायाधिवक्त सविता भण्डारीलाई बर्खास्त गर्न मागसमेत गरेका छन् । उनले भनेका छन्, ‘जेन्जी मुभमेन्टले विद्रोहलाई अपहरण गर्दै सत्ता कब्जामार्फत बनेको सुशीला कार्की नेतृत्वको सरकार र उहाँले नियुक्ति गरेका महान्यायाधिवक्ताबाट अपराधीलाई उन्मुक्ति दिने कार्यले कानूनको सर्वोच्चता कमजोर पारेको छ । यस्तो कार्य लोकतान्त्रिक मूल्य, पीडितको न्याय र राज्यको जिम्मेवारीविरुद्ध भएको मुभमेन्टको ठहर छ ।’ जेनजी मुभमेन्टले कुनै पनि अपराधीलाई दिइने उन्मुक्ति जेनजी विद्रोहमाथिको धोका र बलिदानीमाथिको गम्भीर अपमान भएको बताएको छ ।

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले पनि महान्यायाधिवक्ताको निर्णयको विरोध गर्दै बर्खास्त गर्न माग गरेको छ ।
तर जेनजीको सहादतमा बनेको सरकारले यस्तो निर्णय गरेकोमा जेनजी अगुवा सुदन गुरुङ भने मौन बसेका छन् ।
भ्रष्टाचारीलाई कारबाही नगरेको, भदौ २४ मा आगजनी गर्नेलाई पक्राउ गरी जेल हालेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालकाविरुद्ध दैनिक स्टाटस लेख्ने र भिडियो सन्देश जारी गर्ने सुदन यो मामिलमा किन मौन बसे ? सर्वत्र चासोको विषय बनेको छ ।
सुदनले गृहमन्त्रीका विरुद्ध यस्तोसम्म लेखेका थिए, ‘जेनजी र सरकारपक्षबीच भएको सम्झौता बमोजिम भ्रष्टाचारीलाई र हत्यारालाई छानबिन र कारबाहीको दायरामा ल्याउनबाट पछाडि हट्दै उल्टै, भाद्र २३/२४ का आधारमा झुठा अभद्र मुद्वामा फसाएर पक्राउ गर्ने र बारम्बार हामीले रिहाईका निम्ति पीडित पक्षका परिवारलाई सघाउँदा पनि, मुद्वा र धरौटीका कारणले रिहाई हुन नसेका पीडित पक्षका परिवारले अबदेखि रिहाईका निम्ति जेनजीका रगतमा उभिएर शासन गर्दै गरेका सरकारका सुरक्षा निकायका गृहमन्त्रीज्यू र स्वकीय सचिवलाई सम्पर्क गर्नुहोला । हो, हामी गृह मन्त्रालयको कामबाट सन्तुष्ट छैनौँ। यो भावना होइन, तथ्यमा आधारित असन्तुष्टि हो । हामी सडकमा कसैलाई मन्त्री बनाउन आएका थिएनौं, हामी स्कुले पोशाकमा मारिएका बालबालिकाको न्यायका लागि, भ्रष्टाचार र राज्य आतङ्कविरुद्ध, र सत्य तथा जवाफदेहिताको लागि आएका हौँ। हामीलाई भाषण होइन, काम चाहिएको हो। योग्यताको प्रमाण पदले होइन, परिणामले दिनुपर्छ। यदि वर्तमान गृहमन्त्रीको काम पुराना सरकारजस्तै भयो भने हामी चुप बस्दैनौँ।’

जेनजीका रगतमा उभिएर शासन गर्ने भन्दै गृहमन्त्रीविरुद्ध उत्रिएका सुदन यो प्रकरणमा किन मौन ? त्यस्तै, काठमाडौँ महानगरपालिकाका मेयर एवं रास्वपाका वरिष्ठ नेता बालेन साह पनि यस विषयमा मौन बसेका छन् । सुशासनको कुरा गर्ने बालेन किन मौन बसे त ?

रानीतिक विश्लेषक केशव दाहाल यो प्रकरणमा बालेनको जवाफ आउनुपर्ने बताउँछन् । उनको भनाई छ, ‘रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा फिर्ता लिने निर्देशन प्रकरणमा महान्यायाधिवक्ता महोदयाको स्वार्थ बुझ्न सकिन्छ। किनभने उहाँको मनोग्रन्थीमा के छ भन्ने कुरा डिम्ब प्रकरणले देखाएकै छ। सायदै यसमा सरकारको जवाफ त्यति चाखलाग्दो र जिम्मेवार नहोला। तर सुशासनको कुरा गर्ने रास्वपाका वरिष्ठ नेता बालेन साहले यो प्रकरणको जवाफ के देलान्, त्यो चाहिँ सुन्नु निकै चाखलाग्दो हुन सक्छ। आफ्नै पार्टी सभापतिको विषयमा वरिष्ठको धारणा त पक्कै आउला । नत्र के सुशासन, के जवाफदेहिता ?’