काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले विदेशीको योजनाअनुसार महान्यायाधिवक्ताको कार्यालयले अभियुक्तहरूको अभियोग परिवर्तन गरेको आरोप लगाएका छन् ।
४२ औँ पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार विदेशीको इसारामा चलेको आरोप लगाएका हुन् ।
महान्यायाधिवक्ताको कार्यालयले रास्वपा सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताको पत्राचार विदेशीको योजनामा भएको आरोप लगाए । उनले महान्यायाधिवक्ताको कार्यालयले अभियोग फिर्ता लिने निर्णयले सहकारीका बचतकर्ता थप मारमा पर्ने बताए ।
उनले भने, ‘महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मको लागि कलङ्कित भएको छ। लज्जाको विषय भनेको छ। यस्तो पनि हुन्छ, डिम्बका काण्ड बिर्सिम् भन्यो फेरि अर्को काण्ड। फेरि अर्को काण्ड। दुनियाँको हिनामिना भएको पैसा कसले महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ?’
अध्यक्ष ओलीले महान्यायाधिवक्ता कार्यालयको यो नजिरले अब कसैलाई मुद्दा लगाउन नमिल्ने बताए । उनले भने, ‘अब कसैलाई मुद्दा लाग्दैन, कसैको सम्पत्ति खाए पनि, मजाले खान पाइन्छ। मुद्दा लाग्दैन। हिजो भुलकुकले मुद्दा लागेको रहेछ भने पनि माफी मिनाहा हुन्छ । अभियोग फेरिन्छ । चुनावमा हिरो बनाएर अघि सारिन्छ ।’
अध्यक्ष ओलीले देशमा थिति र विधिको शासन नरहेको टिप्पणी गर्दै वर्तमान अवस्था ‘जसको लाठी उसको भैंसी’ जस्तो बनेको आरोप लगाए ।
उनले आफूहरूले नेपालमा नेपालीकै सरकार बनाउने र अरूको सरकार बनेमा ढाल्ने चेतावनी दिए । उनले भने, ‘हामी नेपालमा नेपालको सरकार बनाउन चाहन्छौं । अरूको सरकार बनाउन दिँदैनौं । बन्यो भने ढाल्छौं । यसबारे आजको नयाँ पुस्ता सचेत हुन आवश्यक छ । यसलाई बचाउनु हामी सबैको दायित्व हो ।’

प्रतिक्रिया