वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार यो निर्णय जनवरी २१ देखि लागू हुनेछ।
स्थगनमा नेपाल, पाकिस्तान, बंगलादेश, ब्राजिल, कोलम्बिया, उरुग्वे, बोस्निया, अल्बानियालगायत अफ्रिका, मध्यपूर्व र क्यारिबियन क्षेत्रका धेरै देश परेका छन्। विदेश मन्त्रालयले सम्भावित आप्रवासीहरू अमेरिका पुगेपछि सार्वजनिक भार बन्ने जोखिम रोक्न आप्रवासन प्रक्रिया पुनरावलोकन गर्न यो कदम चालिएको जनाएको छ।
विदेश मन्त्रालयका उपप्रवक्ता टोमी पिगटले भने, ‘सार्वजनिक सहायता र कल्याणकारी सुविधा दुरुपयोग गर्न सक्ने विदेशी नागरिकको प्रवेश रोक्न भिसा प्रक्रिया रोकिएको हो।’
यो निर्णयले भने अमेरिकी भ्रमण (भिजिटर) भिसालाई असर गर्ने छैन । सन् २०२६ को विश्वकप र २०२८ को ओलम्पिक अमेरिकामै आयोजना हुने भएकाले भ्रमण भिसा प्रक्रिया यथावत् रहने जनाइएको छ।
ट्रम्प पुनः सत्तामा आएयता आप्रवासन नीतिमा कडाइ गर्दै आएका छन्। उनको प्रशासनले कानुनी र गैरकानुनी दुवै किसिमका आप्रवासनमा नियन्त्रण कडा बनाएको भन्दै आलोचना पनि भइरहेको छ। विदेश मन्त्रालयका अनुसार ट्रम्प कार्यकाल सुरु भएदेखि १ लाखभन्दा बढी भिसा रद्द भइसकेका छन्।
स्थगनमा परेका देशहरूः
अफगानिस्तान, अल्बानिया, अल्जेरिया, एन्टिगुवा एन्ड बार्बुडा, आर्मेनिया, अजरबैजान, बहामास, बंगलादेश, बार्बाडोस, बेलारुस, बेलिज, भुटान, बोस्निया, ब्राजिल, म्यानमार (बर्मा), कम्बोडिया, क्यामरुन, केप भर्डे, कोलम्बिया, कङ्गो, क्युबा, डोमिनिका, इजिप्ट, एरिट्रिया, इथियोपिया, फिजी, गाम्बिया, जर्जिया, घाना, ग्रेनेडा, ग्वाटेमाल, गिनी, हैटी, इरान, इराक, आइभोरी कोस्ट, जमैका, जोर्डन, कजाखस्तान, कोसोभो, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, लाइबेरिया, लिबिया, म्यासेडोनिया, मोल्डोभा, मङ्गोलिया, मोन्टेनेग्रो, मोरक्को, नेपाल, निकारागुवा, नाइजेरिया, पाकिस्तान, रिपब्लिक अफ द कङ्गो, रूस, रवाण्डा, सेन्ट किट्स एन्ड नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनेडिन्स, सेनेगल, सियरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, सिरिया, तान्जानिया, थाइल्याण्ड, टोगो, ट्युनिसिया, युगान्डा, उरुग्वे, उज्बेकिस्तान र यमन।

प्रतिक्रिया