काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुले पार्टीभित्र सहमति जुटाउन अधिकतम प्रयास गरेको बताएका छन् ।
पार्टी केन्द्रीय समिति बैठकले बुधबार कारबाही गरेपछि विशेष महाधिवेशन हललाई सम्बोधन गर्दै थापाले आफूहरुले मिलाउने प्रयास गर्दा जालझेल गरिएको बताएका हुन् ।
उनले आफूहरुले सभापति शेरबहादुर देउवालाई अन्तरिम नेतृत्व चुनेर जाऔं नत्र उपसभापति पूर्णबहादुर खड्का वा शेखर कोइराला जसलाई बनाए पनि अन्तरिम सभापति बनाएर जाऔं भनेर प्रस्ताव गरेको बताए ।
उनले त्यसकै लागि आफूहरूले विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका सारेको बताए । तर संस्थापन पक्षका सहमहामन्त्री बद्री पाण्डे आफूहरूलाई कारबाही गरिएको विवरण बुझाउन निर्वाचन आयोगमा तयारी भएर बसेको उल्लेख गरे ।
उनले आफूले सभापति शेरबहादुर देउवालाई कुरा बुझाउनै नसकेको बताए । थापाले कांग्रेस कुनै पनि निजी कम्पनी नभएको बताए । उनले भने,“महामन्त्रीसहित तीनजनालाई निष्कासन गरिएको छ रे, कसैको प्राइभेट लिमिटेड होइन नेपाली कांग्रेसमा नौ कक्षादेखि काम गरेको हुँ ।’
उनले नेता कार्यकर्तालाई आफूलाई कारबाही गरेकोप्रति गाली नगर्न आग्रह गरे । उनले भने, ‘उहाँहरुले हामीलाई अलमल्याएर निर्वाचन आयोगमा निवेदन दिएर कारबाही गरियो । हामीलाई अलमल्याउनुभयो । सिंगो देशलाई कसरी अलमल्याउने हो ?’

प्रतिक्रिया