देउवा र महामन्त्रीद्वय आ-आफ्नै अडानमा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीचको छलफल सकिएको छ । निर्णायक छलफलका लागि देउवा निवासमा पुगेका उनीहरू छलफल सकेर निस्किएका हुन् ।

दुवै पक्षले आ–आफ्ना अडान यथावत् राखेपछि वार्ता निष्कर्षविहीन बनेको हो । विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला विवाद समाधानका लागि महामन्त्रीद्वय र सभापति देउवाबीच भेटवार्ता भएको थियो ।

तर वार्तामा कुनै सहमति नभएको बताइएको छ । वार्तामा देउवालाई महामन्त्रीले सक्रिय राजनीतिबाट बिदा लिन आग्रह गरेका थिए । तर सभापति देउवाले त्यसमा कुनै प्रतिक्रिया नजनाएको बताइएको छ । यता, विशेष महाधिवेशन पक्षधरले भने निर्वाचन प्रक्रिया अघि बढाएको छ । सहमति नभए आज नेतृत्व चयन गर्ने तयारीमा विशेष महाधिवेशन पक्षधर रहेको छ ।