रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री तथा पर्यटन विभाग प्रमुख विजय खड्काले राप्रपाले यही फाल्गुन २१ गते हुने निर्वाचनलाई आन्दोलनको मोर्चाको रूपमा प्रयोग गर्ने बताएका छन् ।
मंगलबार राप्रपा रामेछाप जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यो निर्वाचन पनि आन्दोलनको एउटा मोर्चा भएकाले यसमा जुझारुका साथ लाग्न कार्यकर्तालाई निर्देशन दिए । उनले अब राप्रपा सबै राष्ट्रवादी, हिन्दूवादी, संघीयता विरोधी तथा समृद्ध राष्ट्र चहना गर्नेहरूको मूल थलो भएको जनाउँदै राप्रपाले सबै समान विचार भएकाहरूलाई मोर्चावन्दी गर्ने बताए ।
अहिले मुलुकको परिस्थितिले राजसंस्थाको माग गरेको भन्दै उनले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा माहोल बन्दै गएको र अब छिटोभन्दा छिटो राजसंस्था पुनःस्थापना हुने बताए । कार्यक्रममा केन्द्रीय सदस्य पूर्वमन्त्री आङछिरिङ लामाले राप्रपा सशक्त भएर अगाडि बढ्ने र मुलुकले अब राप्रपालाई खोजिसकेको बताए ।
उनले सबै साथीहरूलाई संगठनमा लाग्न आग्रह गरे। जिल्ला अध्यक्ष भरत वाईवाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा केन्द्रीय सदस्यहरू दिनेश कार्की, लालाध्वज लामा पूर्वकेन्द्रीय सदस्य मणिराज तामाङ पूर्वअध्यक्ष रामचन्द्र कँडेल, महिला नेतृ सरस्वती श्रेष्ठ युवा नेताहरू सिताराम ढकाल, प्रदीप घिमिरे लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए । अधिवेशनले भरतसिंह वाईवाको अध्यक्षतामा सर्वसम्मत २१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

प्रतिक्रिया