कांग्रेस विशेष महाधिवेनप्रति खुस र बेखुस एमाले


काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन चलिरहेको छ । यदि संस्थापन पक्षसँग कुनै सहमति नभए आज नयाँ नेतृत्व चयनको तयारी छ । विशेष महाधिवेशनलाई लिएर कांग्रेस भित्र चिन्ता चासो, खुसी, बेखुसी हुनु स्वाभाविकै हो । तर यतिबेला त्यो चिन्ता चासो नेकपा एमालेमा देखिएको छ । एमालेमा पनि कांग्रेस विशेष महाधिवेशनलाई लिएर दुई धार देखिएको छ । अध्यक्ष ओली पक्ष विशेष महाधिवेशनको विपक्षमा देखिएको छ भने इतर पक्ष गगन विश्वको पक्षमा देखिएका छन् । सामाजिक संजालमा यतिबेला एमालेका दुबै पक्षले विशेष महाधिवेशनकाबारेमा चिन्ता र चासो लिएको पाइएको छ । उपमहासचिव योगेश भट्राईले त विशेष महाधिवेशन गरेकोमा गगन विश्वलाई सलाम नै गरे । तर ओली पक्षले भने गगनको अभिव्यक्तिको आलोचना गर्दै आएको छ ।

तर एमालेकी ओली इतर पक्षकी नेतृ उषाकिरण तिम्सेनाले कांग्रेसको विशेष महाधिवेशनले आफूलाई खुसी बनाएको बताएकी छन् । उनी सामाजिक संजालमा लेख्छिन्, ‘कांग्रेस विशेष महाअधिवेशनले नेपाली समाजलाई दुईवटा स्पष्ट सन्देश दिएको छ, जसले मलाई व्यक्तिगत रूपमा पनि खुसी बनाएको छ । १. चुनावी तालमेल नहुने कुराको स्पष्ट ग्यारेन्टी । २. पुराना पार्टीहरूभित्र युवाहरूको हस्तक्षेप । वाह भन्न लायक छैनन् त यी दुई एजेन्डा ?’

त्यस्तै अर्का नेता गोकुल बास्कोटाले लेखेका छन्, ‘कांग्रेस रबर हो,जो तन्कन्छ चुँडिदैन–त्यहाँ वामपन्थी जार्गनयुक्त बालहठ भन्दा बढी मध्यवामपन्थी संस्कारयुक्त लुब्रिकेन्ट छ । मातृका र देउवा अपवाद हुन् । देउवाले पार्टी मात्र फुटाएनन् डेमोक्रेसी नै दरबारमा बुझाइदिए । गगन–विश्वका राजनीतिक एजेण्डा ठिक देखिए पनि ४० % को देउवापथ उनीहरुले त्यागुन् ।’

एमालेका अर्का नेता प्रदीप ज्ञवालीले भने कांग्रेस महाधिवेशनकाबारेमा लेख नै लेखेर सामाजिक संजालमा पोष्ट गरेका छन् । ज्ञवालीले लेखेका छन्ः

नेपाली काँग्रेसको विशेष महाधिवेशन जारी छ । त्यहाँ चलिरहेका बहस, विमर्श र विवादलाई नजिकबाट नियालिरहेको लोकतान्त्रिक आन्दोलनको सहयात्रीको हैसियतले हाम्रो एउटै कामना छ– मतभेदलाई सुझबुझपूर्ण ढङ्गले समाधान गर्दै नेपाली काँग्रेस अझ एकताबद्ध र सुदृढ बन्न सकोस् ।

तर कतिपय नेताका अभिव्यक्ति र पेश गरिएका दस्ताबेजमा प्रस्तुत एउटा विषय भने अलि गम्भीर छ । त्यो हो– भदौ २४ गते मुलुकमा भएको विध्वंश र त्रासदीप्रति रहस्यमय मौनता या तुष्टिकरण । सत्य हो– समाजमा असन्तुष्टि थियो । सत्य हो– युवाहरुसँग समाज, सत्ता र संस्थाहरुको दूरी एक हदसम्म बढेको थियो । त्यो असन्तुष्टि भदौ २३ गते पूर्वाह्नमा भद्र प्रदर्शनमा प्रकट भएको थियो । तर अपराह्नपछि त्यो प्रदर्शन न आयोजकहरुले भनेजस्तो शान्तिपूर्ण रह्यो, न उनीहरुको नियन्त्रणमा नै । प्रदर्शनभित्र घुसपैठ गरेर त्यसलाई रक्तपातमा रुपान्तरण गर्ने र युवाहरुलाई मानवढाल बनाउने कृत्यमा सङ्लग्नहरुलाई पनि ’जेनजी आन्दोलनकारी‘ ठान्ने हो र त्यसकै आडमा भोलिपल्ट भएको देश दहनलाई पनि प्रकारान्तरले उचित ठहर्याउने हो भने त्यस अपराधलाई बैधता दिएको ठहर्छ ।

समाजमा असन्तुष्टिहरु हुन्छन् । आज पनि छन् । ४ महिना बित्दानबित्दै कथित नागरिक सरकारप्रति सर्वत्र असन्तुष्टि देखिएको छ– उर्जा व्यापारमा गरिएको घोटालालाई लिएर, घाइतेहरुको उपचारमा गरिएको वेवास्तालाई लिएर, विभिन्न गैरकानुनी काममा सङ्लग्नहरुलाई गरिएको संरक्षणलाई लिएर, मन्त्रीहरुका विवादास्पद निर्णय र अभिव्यक्तिलाई लिएर । स्वयं ‘जेनजी अभियन्ता’ हरु असन्तुष्ट छन् ।

तर यसको अर्थ अब यसै बहानामा पुनः सिंहदरबार जलाउनु उचित ठहरिन्छ ? अराजकता र आन्दोलन एउटै होइनन् । विध्वंश र विद्रोह एउटै होइनन् । आन्दोलन, विद्रोह या क्रान्तिका निश्चित नैतिक मूल्य र सीमाहरु हुन्छन् । नेतृत्वका गल्ती थिए होलान्, भोलि अर्को नेतृत्वबाट पनि गल्ती होलान्, तर त्यस बहानामा भएको लोकतन्त्र, संविधान र राष्ट्रियतामाथिकै आक्रमणलाई पनि जायज ठहर्याउन थालियो भने कहाँ पुगिएला ?

राजनीतिमा साधन र साध्यको सङ्गतिपूर्ण अन्तरसम्बन्ध हुनुपर्छ । गलत साधनबाट सही साध्यमा पुग्न सकिँदैन । विध्वंशका ‘नायक’ हरु त अरुहरु नै छन् । कोही भदौ २४ मै दिग्विजयी मुद्रामा जेलबाट बाहिर निस्केर सिँहदरबार जाँदै थिए, कोही ‘भावी प्रधानमन्त्री’ को पगरी गुथेर त्यही खरानी टेक्दै अगाडि बढ्दैछन् । नेतृत्वका गल्तीको विरोध गर्ने नाममा कम्तीमा नेपाली काँग्रेसका साथीहरु त्यही बाटोमा नहिँडे हुने हो ।